- मातृका लामिछाने

गौरवशाली इतिहास हाम्रो गाथा वीरताको ।
शान्तिप्रिय सेना हाम्रो प्रतीक एकताको ।।
गरि संहार आतंकको गर सम्भार देशको ।
बचाइ संस्कृति गर रक्षा भाषा, भुषा र भेषको ।
दूरद्रष्टा, युगद्रष्टा तीक्ष्ण बुद्धि अनि चतुर ।
शैन्यकौशल, रणकौशलमा निपूर्णता प्रचुर ।।
थिए एक कमाण्डर राजा पृथ्वीनारायण
राष्ट्रप्रति इमानदार अनि कर्तब्यपरायण ।
सगौरव एकताको लगाउछौँ हामी नारा ।
गोरखा हुँदै कान्तिपुर, जुटाइ देश सारा ।।
राष्ट्रनिर्माण गरि मजबुत बन्यो देश हाम्रो ।
स्वतन्त्र र सधैं अटल संसारमै छ राम्रो ।।
तिलंगा भनि सुरु फौजी, नेपाली सेना बन्यो ।
विश्वका देशले पनि उत्कृष्ट सेना भन्यो ।।
तराई पहाड हिमाल अग्ला ती टाकुरामा ।
पुर्खाको वीरता बोकी हिंड्ने सधैं पाखुरामा ।।
आँधीबेहरी बाढी पहिरो हिँडी सँगसँगै ।
लड्दै कडा संकटबीच हाँसिरहने सधैं ।।
भीरपाखा पहरामा बाटो खन्दाखन्दै ।
कति भए सहादत जय मातृभूमि भन्दै ।।
अटल यो देशलाई छ तिम्रै आशा भरोषा ।
शान्ति अनि सुरक्षामा आउन नदेउ निराशा ।।
अन्धकारमा ज्योति बनि दुखको बन सारथी ।
चढाउँदछु सधै तिमीलाई सम्मान गारती ।।
जोगाइ सार्वभौमिकता, बचाऊ राष्ट्रियता ।
बनाइ मूल मन्त्र शान्ति, सुरक्षा अनि एकता ।।
डमरु अनि त्रिशुल बोकी रच्यौ इतिहास पनि ।
देखाइ माटोको माया जितेर आयौ जंग अनि ।।
टिस्टा अनि काँगडा लड्यौ नालापानीमा ।
अब देखाउनुछ साहस एकफेर कालापानीमा ।।
विकास निर्माण गर्न बनायौ पूल पुलेसा र बाटो ।
मेची काली जोगाऊ सधैं अनि यो देशको माटो ।
कालु पाण्डे, भक्ति अनि अमरसिंह थापा ।
बहादुर शाहले बनाएको वीरताको गाथा ।।
चन्द्र-सूर्य अंकित झण्डा छ जंगी निशान ।
फहराइ विजयको किल्लामा गाउँ राष्ट्रगान ।।
जपेर सधैं मूलमन्त्र सेवाभाव र देशभक्तिको ।
सलाम छ सधैं तिम्रो स्वाभिमान र अटुट शक्तिको ।।
राष्ट्रनिर्माता पृथ्वीनारायणको गरौँ सधैं आरती ।
जननी जन्मभूमिश्च स्वार्गादपी गरियसी ।।
प्रतिक्रिया