नेपालमा मनाइने माघे सङ्क्रान्ति र रूसको नयाँ वर्षबीच यस्तो छ तादाम्यता

नेपालमा मनाइने माघे सङ्क्रान्ति र रूसको नयाँ वर्षबीच यस्तो छ तादाम्यता


  • विशेष प्रतिनिधि, अष्ट्रिया

आजको दिन रूसमा नयाँ वर्ष मनाइन्छ र, भोलि (माघ १) हामी नेपालमा माघे सङ्क्रान्ति मनाउँदैछौँ । यी पर्वबीचको नाता सूर्यसँग गएर जोडिएको छ।

रूसमा मनाइने नयाँ वर्ष जुलियान पात्रोअनुसार हो । सन् १९१८ सम्म रूसमा जुलियान पात्रो चल्दथ्यो । बोल्शेभिकहरू सत्तामा पुगेपछि ग्रिगोरियन पात्रो चलाउन थाले । यी दुई पात्रोबीच १३ दिनको फरक छ। सरकारले ग्रिगोरियनको पात्रो चलाउन थाले पनि रूसको शक्तिशाली अर्थोडक्स चर्चले जुलियान पात्रोको प्रचलन कायमै राख्यो र धार्मिक चाडपर्वहरू अहिलेसम्म पनि जुलियान पात्रोअनुसार नै मनाइन्छ । सरकारी पात्रो फरक भएकोले आज मनाइने नयाँ वर्षलाई रूसमा पुरानो नयाँ वर्ष भनिन्छ ।

डा. श्याम उपाध्याय

संयुक्त राष्ट्र संघीय कार्यालय भियनामा लामो समय काम गरेर डिभिजन प्रमुखको ओहदाबाट रिटायर्ड भएका डा. श्याम उपाध्यायले केही समयअगाडि क्रिसमसबारेको आफ्नो एक लेखमा ग्रिगोरियन होस् या जुलियान पात्रोको नयाँ वर्ष, या क्याथोलिक होस् वा अर्थोडक्स, चर्चले मनाउने क्रिसमस यी सबैको आधार सूर्यको उत्तरायण हुने समयसँग सम्बन्धित छ भनेर लेखेका थिए । मानव विकासको विभिन्न कालखण्डमा ज्योतिषशास्त्रीहरूले निकालेको पात्रोमा उत्तरायण हुने समयको हिसाब केही दिनले फरक भएको तर जति पछि गणना भयो उति नै उत्तरायणको समय अघि सरेको देखिन्छ भन्ने उहाँको तर्क थियो । हामी नेपाली १५ जनवरीमा माघे सङ्क्रान्ति मनाउँछौँ, रूसीहरू १४ जनवरीमा नयाँ वर्ष र ८ जनवरीमा क्रिसमस मनाउँछन्, ग्रिगोरियन पात्रो भएका देशहरू १ जनवरीमा नयाँ वर्ष र २५ दिसम्बरमा क्रिसमस मनाउँछन् । तर खासै उत्तरायण हुने दिन अर्थात् वैज्ञानिक भाषामा भन्दा Winter Solstice (लेटिन भाषामा सूर्य स्थिर हुने दिन) दिसम्बर २१ भन्ने स्थापित भएको छ ।

डा. जगमान गुरुङको भनाइअनुसार विक्रम सम्वतको पात्रो सूर्य उत्तरायण र दक्षिणायन हुने समयबीचको मध्य पारेर (माघेदेखि साउने सङ्क्रान्तिसम्मको समयको मध्यमा) वैशाख सङ्क्रान्तिको दिन गणना सुरु गरिएको छ । नेपालको भौगोलिक अवस्थितिलाई हेर्दा हाम्रो लागि यो नै सबैभन्दा वैज्ञानिक पात्रो हो, किनभने हामी पूरै उत्तरी देश होइनौँ ।

अक्षांशअनुसार नेपाल कर्कट रेखा नजिक पर्दछ, तर यस मान्यताअनुसार हामीले नयाँ वर्ष Spring Equinex अर्थात चैत्र ७-८ गते तिर मनाउनु पर्ने थियो । पश्चिमाहरूको नयाँ वर्ष र Winter Solstice बीच रहेको ११ दिनको अन्तरको तुलनामा हाम्रो Spring Equinex सँगको अन्तर २० दिन छ । यो सच्याउनुपर्छ भन्ने राय डा. उपाध्यायको रहेको छ ।

अहिलेलाई रूसीहरूलाई नयाँ वर्ष र नेपालीलाई माघे सङ्क्रान्तिको शुभकामना दिँदै नेपालीलाई नयाँ वर्ष भन्न अरू तीन महिना प्रतीक्षा गरौँ । अस्तु ।