दम्भ स्वास्थ्यका लागि हानिकारक छ !

दम्भ स्वास्थ्यका लागि हानिकारक छ !


ज्ञानमणि भुर्तेल

ब्यंग्योक्ति

‘जहाँ म छु ! त्यहाँ काङ्ग्रेस छ’ भन्ने दम्भले केहीअघि एक वरिष्ठ उत्तानो पर्नुभएको थियोे !’ तिमी को हौ ? भन्दै दुईटा फुच्चेले उत्तानोटाङ पार्दिएपछि उहाँ थला पर्नुभएको थियोे !!

त्यस्तै भो आज मलाई पनि ! ‘जहाँ म छु त्यहाँ कोरोना छैन’ भन्ने दम्भ राख्ने मलाई ‘तँ लिखे चैँ को होस् ?’ भन्दै उत्तानो पार्दियो कोरोनाले !

काठमाडौंबाट आएको भान्जालाई पोजेटिभ देखिएपछि ‘हेरौँ न त’ भन्दै कन्काई पुगेर धुर्वे हात्ती तेर्स्याइयो काउन्टरमा ! बदलामा एउटी मैयाँले सानो चिर्कटो थमाइदिइन् ! आफू असनको साँढे र चिर्कटोलाई निरीह साग ठान्दै दम्भका साथ झ्यालमा उभिएपछि घोचपेच सरको आदेशमा हाब्रो च्यातियो ! हजार तिरेर हाब्रो च्यात्दा त निकै ठूलो घोचो घुसार्लान् भन्या त ललिपपको जस्तो सानो सिन्कोले घोच्यो ! च्यापुसम्म त ठिकै थियो नाकमा घुसारेपछि चैँ साँच्चै तोरिकै फूल देखियो !

‘चार बजे मोबाइलमा रिपोर्ट हेर्नुहोला’ भन्ने उर्दी जारी गर्दा मनमनै भन्दै थिएँ म- किन हेर्नु रिपोर्ट ? म त ठुलो काङ्ग्रेस पो त ! यस्ता नाथे कोरोना त मेरा लागि खैनीबराबर ! फुकेरै उडाइन्छ ! साढे चार बजेतिर ‘हेर्दिउँ न त’ को भावमा मोबाइल हेर्दा चौधौँ अधिवेशन दोहोरियो मेरा लागि ! फुच्चे ठानेको कोरोनाले उत्तानोटाङ पार्दियो मलाई !

रिपोर्ट अनुसार- पिण्ड सेवन अनुकुल नभए पनि ज्यानमा हल्का ग्रहण देखिएका कारण सतर्कता जरुरी देखिन्छ ! तातोपानी, ज्वानोको झोल, चिकनसुप प्रिय मित्र भएका छन् ! खोपडीमा डेरा जमाएर बसेको दम्भलाई बिदा दिएर आत्मविश्वासलाई काजमा ल्याएको छु ! डाक्टर उखान अङ्कलले सिफारिस गरेका औषधि पनि सेवन गर्दैछु ! आशा छ यिनै मित्रहरूले इमानदारीपूर्वक साथ निभाउने छन् !

साथसाथै अन्य महानुभावमा समेत अनुरोध- ‘मलाई कोरोना लाग्दैन ! म असनको साँढे हुँ ! कोरोना सामान्य साग हो ! सजिलै पचाउन सकिन्छ !! मैले जे गर्दा पनि हुन्छ’ भन्ने दम्भ राख्दै कात्तिके कुकुर झैँ लखुर-लुखुर नडुलौँ ! नाक-मुखलाई समेत गुप्ताङ्गसरह मान्यता दिँदै पर्दाभित्रै राखौँ ! रसिलो–पोसिलो तातो पेय पदार्थ सेवन गरौँ ! यत्ति भए उत्तानोटाङ पनि लाग्दैन ! पिण्ड सेवनको सम्भावना पनि रहँदैन !’


अन्तमा, दुई मिनेट हाब्रो च्यातेर नाथे दुईटा सिन्का कोचरेको सजाय धुर्वे हात्ती !? यो चैँ अलिक अन्याय नै भयो कि सरकार ?

हुन त सरकारको जवाफ- करोडौँ-अर्बौं पचाइदिने हाम्रा अगाडि नाथे हजारको कुरो गर्ने तँ छुचुन्द्रे को होस् ? भन्ने पनि हुन सक्ला, तर आफैंले ल्याएको गाणतन्त्रमा यति सोध्ने धृष्टता गर्दा के फरक पर्ला र ! हैन त ?