-सुमित्रा अर्याल
नेपाली काङ्ग्रेसले यो वर्ष पनि राष्ट्रिय मेलमिलाप दिवस मनायो । सुन्दरीजलमा काङ्ग्रेसद्वारा आयोजित विशेष कार्यक्रममा सभापति सुशील कोइरालासँगै एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेकपा एमालेका नेता केपी ओली पनि सहभागी भए । सो कार्यक्रममा अन्य विभिन्न नेताहरूले पनि सहभागिता जनाए ।
कार्यक्रममा सहभागी हुँदै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले जननायक बीपी कोइरालासँग आफूलाई तुलना गरेको सुन्दा भने आर्श्चर्य लाग्यो । प्रचण्डले ‘दुवैलाई विदेशी प्रभुले हटाए’ भनेर तुलना गरेका छन् जबकि प्रचण्ड राष्ट्रिय सेनामाथि अनावश्यक हस्तक्षेप गरेपछि आफैंले राजीनामा दिएर सत्ताबाट हटेका हुन् भने बीपीलाई ०१७ सालमा सत्ताच्युत गरिँदाको परिस्थिति बेग्लै हो । बीपी त्यसपछि जेल परेका थिए तर प्रचण्ड त आफंैले राजीनामा दिएर सडकमा आक्रोश पोख्न हिँडेका होइनन् र ?
यसैगरी कहाँको धर्ैय, संयम र इमानदारीका उदाहरण बीपी, कहाँ अस्थिरता, आक्रोश र बेइमानीका पर्याय प्रचण्ड । पछिल्ला दिनमा केही जिम्मेवार बन्दै जान लागेको, शान्तिकामी र बौद्धमार्गीजस्तो देखिए पनि उनी हावाले हल्लाउँदा छिनछिनमा पल्टने पातजस्ता हल्का देखिन्छन् जुन स्वर्गीय बीपीसँग कत्ति पनि तुलनायोग्य स्वभाव होइनन् ।
कहाँ शान्तिप्रति प्रतिबद्ध बीपी कहाँ हत्या-हिंसाको माध्यमद्वारा नेता बन्ने प्रचण्ड ! तुलना हुन सक्छ ? बीपी आफ्नो विचार र आदर्शलाई सँगसँगै हिँडाउन सक्षम राजनेता थिए । जहाँ, जुनसुकै परिस्थितिमा पनि विचार गरेर अभिव्यक्ति दिने, आफ्ना विचारबाट अविचलित र समयोचित कदम चाल्ने दूरदर्शी नेता थिए जब कि प्रचण्ड भीड देख्नासाथ उत्तेजित हुने, कहाँ कसरी बोल्दा ताली बज्छ भन्ने मात्र सोच्ने प्रकृतिका व्यक्ति हुन् ।
बीपी कम उमेरमै परिपक्व र जिम्मेवार राजनीति गरेका र प्रजातन्त्रको स्थापनाका लागि निरङ्कुशताविरुद्ध लडेका ‘महामानव’ हुन् जब कि प्रचण्ड हज्जारौँ नेपालीको ज्यान लिने सशस्त्र सङ्घर्षका नाइके । प्रचण्डको नेतृत्वमा राज्यको ढुकुटी लुटियो, जनता त्रसित, भयभीत मात्र भएनन् हज्जारौँ निर्दोष नागरिकको नृशंश हत्या भयो । अराजकता, उद्दण्डता र दण्डहीनता मौलायो । यसैले पनि बीपीसँग उनको तुलना कुनै हालतमा हुन सक्दैन ।
बीपीको ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ अहिले पनि उत्तिकै सान्दरि्भक छ जब कि प्रचण्ड र उनको दलले जुन नीति लिएर अघि बढेको थियो त्यो सर्वथा अनुचित थियो, यसैले अहिले अर्को बाटो रोज्न बाध्य हुनुपर्ने अवस्था आइसकेको छ । सत्ताकब्जाको नियतले सङ्घर्ष गर्दागर्दै त्यस्तो सङ्घर्षले आफ्नो उद्देश्य सफल नहुने देखेपछि दलहरूसँग सम्झौता गर्न बाध्य भएका प्रचण्डले अहिले दलको नीतिमा परिवर्तन गर्ने प्रयत्न त गरिरहेका छन् तर विगतमा लिएको नीति ‘घाँटीको हड्डी’ भएको छ र उनलाई गलत नीतिबाट सही नीतितर्फ फड्को मार्नु अत्यन्त चुनौतीपूर्ण छ । वास्तवमा आफू यो उचाइमा आउन हिजो आफैंले गलत रूपमा प्रशिक्षित गरेका कार्यकर्तालाई अब फेरि ‘मलाई सत्तामा पुर्याउन नीति परिवर्तन गर्नुपर्यो’ भनेर कसरी भन्ने ? यसैले धर्मसङ्कटको अवस्था छ उनका सामु । यसबाट प्रचण्डले लिएको बाटो गलत र असान्दरि्भक थियो भन्ने प्रस्टै हुन्छ जब कि बीपीको बाटो अझै सान्दरि्भक छ ।
कहाँ विचार गरेर बोल्ने बीपी, कहाँ बोलिसकेर विचार गर्ने प्रचण्ड । कहाँ बीपीको दललाई सम्हालेर मुलुकको वास्तविकतालाई दृष्टिगत गर्दै अघि बढ्ने बुद्धिमानी कहाँ भीडलाई उत्तेजित बनाएर, हावादारी गफ छाडेर जनतालाई दिग्भ्रमित गर्ने, सोझासीधा जनतालाई आश्वासन र प्रलोभन बाँडेर नेता बन्न खोज्ने चटके प्रचण्ड । यति मात्र होइन अशान्ति र आक्रोश फैलाउने अराजकतावादी शैलीका प्रचण्ड र शान्तिका पक्षपाती, प्रजातन्त्रका पर्याय स्वर्गीय बीपीको तुलना कुनै हालतमा हुन सक्दैन ।
यस्तै बीपी अन्तर्राष्ट्रिय जगत्मा प्रजातन्त्रवादी नेताका रूपमा सुपरिचित थिए, दक्षिण एसिया क्षेत्रकै समाजवादी नेताको रूपमा उनलाई विश्वले मानेको थियो जब कि प्रचण्डले हत्या, हिंसा र अशान्तिका पर्यायका रूपमा परिचय बनाएका छन् ।
यसैले बीपीसँग आफ्नो तुलना गरेर उचाइ बढाउने प्रचण्ड धृष्टता अनुचित छ । प्रचण्डसँग बीपीको तुलना बीपीको उचाइ घटाउने प्रयत्न मात्र हो । यर्सथ यस्तो प्रयत्न निन्दनीय छ । क्षमतावान व्यक्तिले आफूले क्षमता देखाएर आफ्नै रूपमा परिचित हुनुपर्छ कसैसँग तुलना गर्ने होइन । त्यसमा पनि चरित्र, स्वभाव र आदर्श मिल्ने व्यक्तिले त्यस्तै व्यक्तिसँग तुलना गर्दा त केही सुहाउँछ, कतै केही नमिल्नेले कसैसँग तुलना गर्दा, जोसँग दाँजिइरहेको हो उसैको उचाइसमेत घट्ने हुँदा यस्तो धृष्टता नगर्नु उचित हुन्छ ।
प्रतिक्रिया