पद्म पुस्तकालय : जहाँबाट राणाविरोधी गतिविधि चल्थ्यो

पद्म पुस्तकालय : जहाँबाट राणाविरोधी गतिविधि चल्थ्यो


  • विनोद ढुंगाना, तनहुँ

शान्त बन्दीपुर बजार । विन्धवासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाले छपक्क छाएको छानो । टुँडाल, झ्याल, ढोका, खाँबोमा नेपाली कला झल्किन्छ । भित्तामा रातो रङ । गाढा होइन, उडेर फिका देखिन्छ । हो, विन्धवासिनी मन्दिरसँग आमनेसमानेको घरले मौलिकता बोकेर बसेको छ वर्षौदेखि । भुइँ तलामा दुई चार थान कुर्सी झ्यालको चहरबाट चियाउँदा देखिन्छ । माथिल्लो तलमा के छ बन्दीपुर घुम्ने धेरैले मेसै पाउँदैनन् ।

मौलिकता त यो घरमा छदैछ । साथै घरले निकै महत्वपूर्ण इतिहास पनि नाता लगाएको छ । बन्दीपुरे इतिहासको साक्षी बसेको छ भन्दा फरक पर्दैन । बन्दीपुर बजारमा आसिन त्यो पुरानो घर बन्दीपुर पद्म पुस्तकायलयको भवन हो । जो बन्दीपुरको इतिहास बोकेर बसिरहेको छ । जुन पुस्तकालय बन्दीपुरको इतिहास र वर्तमान विकासको साक्षी पनि हो ।

भित्तामा झुन्ड्याइएको बोर्डले भन्छ, ‘पुस्तकालय २००१ सालमा स्थापना भएको हो । बोर्ड देखेपछि जो कोहीलाई लाग्न सक्छ राणा शासन चलिरहेको बेलामा पनि पुस्तकालय खुलेको रहेछ । इतिहासका पानाहररू पल्ट्याएर हेर्दा राणा शासनमा पुस्तकालय खुलेको मात्रै थिएन । त्यही पुस्तकालयबाट राणा शासन विरोधी गतिविधि पनि चलेका थिए । बन्दीपुर पद्म पुस्तकालय शासन व्यवस्था बदल्ने, चेतनाको विगुल फुक्ने र शिक्षाको ज्योति छर्ने एक ऐतिहासिक थलो हो ।

भरिभराउ छ बन्दीपुर बजार । तर, बजार बिचमा रहेको पुस्तकालय एक्लो छ । माथिल्लो तलामा रहेको पुस्तकालयको मुल ढोकामा लगाएको ताल्चा कमै खुल्छ आजभोलि । बरु, ताल्चा खोलेर हेर्दा पुराना पुस्तकमा टाँसिएका धुलोको गन्ध नाकसम्म आइपुग्छ । इतिहासलाई भने जोगाएर राखेका छन् तिनै पुराना धुलाम्मे पुस्तकले ।

पद्म पुस्तकालयले २०७५ सालमा आफ्नो हिरक जयन्तीमा प्रकाशित गरेको ‘मुलबाटो’ पुस्तकमा प्रकाशित मणिकुमार प्रधानको लेख ‘सचेतनाको सूचक पद्म पुस्तकालय’ अनुसार २००१ सालमा रामप्रसाद खनालको अध्यक्षतामा रहेको समितिले पुस्तकालय खोलेको हो । समितिको सदस्यमा सूर्यलाल प्रधान, ज्ञानहरी शर्मा, शम्भुलाल प्रधानलगायत थिए ।

१९९७ सालमा राणा शासन विरोधी अभियोगमा धर्मभक्त, शुक्रराज, दशरथ चन्द र गंगालालले प्राण दान दिएर सहिद भए । त्यसपछि ‘जयतु संस्कृतम्’ नामको झिल्को देखियो । त्यसैको उपज रहेछ बन्दीपुर पद्म पुस्तकालय ।

२००१ सालमा स्थापना भएको पुस्तकालयले सुरुमा स्वीकृति पाउन सकेन् । भानु वाचनालयको रुपमा स्थापना भएको जानकारहरु बताउँछन् । २००४ सालमा पद्म शम्सेर प्रधानमन्त्री भएपछि पुस्तकालय खोल्न बन्दीपुरेले बिन्ती चढाउँदा उनले आफ्नै नाममा पद्म पुस्तकालय खोल्न स्वीकृति दिएको बन्दीपुरे प्रध्यापक गोर्वधन भट्टराई बताउँछन् । ऐतिहासिक पुस्तकालय बारेका जानकार भट्टराई भन्छन्, ‘यहाँको भाषा पाठशालाका शिक्षकहररू, वरिष्ठ समाजसेवी र बुद्धीजिवीको पहलमा खोलिएको हो पुस्तकालय ।’

उनका अनुसार पुस्तकालय राणा शासन विरोधी गतिविधि सञ्चालन गर्ने थलो थियो रे । पुस्तकालयले शिक्षाको ज्योति छर्नेसँगै राणा विरोधी जागरण जगाउन तनहुँवासीलाई मद्दत पुर्यायो । ‘जहाँ नेपाली कांग्रेसहरू जम्मा भएर राणा विरोधी आन्दोलनका निम्ति छलफल गर्ने, बैठक बस्ने, निर्णय गर्ने र राष्ट्रियस्तरमा थाहा पाएका कुराहरू पुस्तकालयमा पढ्ने वाहनामा गएर एक आपसमा रिले गर्थे । आन्दोलन चलाउने काम पनि त्यहीँबाट हुन्थ्यो,’ भट्टराईले सुनाए । तर पुलिस सेनाको रेखदेख र निगरानी निरन्तर रहन्थ्यो रे पुस्तकालयमा । किताबको समेत जाँचबुझ हुने गरेको प्रध्यापक भट्टराई बताउँछन् ।

उनी भन्छन्, ‘किताबहरू वनारसबाट ल्याउँथे उनीहरू । अलिअलि राणा विरोधी आन्दोलनका पत्रपत्रिका हुन्थे । भारतीय लेखकका किताब, ज्ञानगुन, सिद्धान्त, दर्शन र पौराणिक किताबहरू हुन्थे । तर, ति किताबहरूको जाँचबुझ र रेखदेख भइरहन्थ्यो । धेरै किताब त पुस्तकालयमा भन्दा घरमा राखिन्थ्यो ।’ किताबहरू भारतको वनारस पुगेका व्यापारीहरूले ल्याईदिन्थे । त्यतिबेला बन्दीपुर व्यापारीक गढी थियो । बन्दीपुरे नेवाहरूले भारतबाट नुनदेखि सुनसम्म ल्याएर बन्दीपुरबाट बेच्थे रे ।’

२००७ सालमा पुस्तकालयमार्फत नै बन्दीपुरमा जनसरकार चलेको उनी बताउँछन् । २००७ साल कात्तिकदेखि जनसरकार चलेको भट्टराईले बताए । भट्टराईका अनुसार जनसरकारले मानापाथी आफ्नै चलाएको थियो । ७ फागुन २००७ को दिल्ली सम्झौतापश्चात भने बन्दीपुर जनसरकारको मन्त्रीमण्डल भंग भएछ ।

२००७ सालको क्रान्ति सफल हुनुमा बन्दीपुर पुस्तकालयको पनि योगदान देखिन्छ । त्यसपछिका परिवर्तनमा यो पुस्तकालयको योगदान स्मरणयोग्य नै छ । राजनीतिक परिर्वतनमा मात्रै नभएर शैक्षिक परिर्वतन र जागरणमा पुस्तकालयको भूमिका उस्तै छ । ‘शिक्षामा जागरण गर्न पुस्तकालयले धेरै सहयोग गरेको थियो । पुस्तकालयले नै शिक्षाको जागरण गर्दै आयो । २०१५ सालमा मात्रै हाइस्कुल खुलेको हो बन्दीपुरमा । हाइस्कुल भएपछि पनि पुस्तकालय प्रयोग धेरै भो । स्कुलमा पुस्तकालय थिएन् । शिक्षक विद्यार्थी सबै जना पुस्तकालयमा गएर पढ्ने भन्ने थियो,’ भट्टराईले उल्लेख गरे । अहिले पुस्तकालयमा पढ्ने निकै कम छन् । त्यसैले त होला पुस्तकालय खोलेर भित्र पस्दा पुस्तकहरू धुलाम्मे देखिन्छन् । व्यवस्थित छैैनन् ।

२०३५ सालपछि त पुस्तकालय बन्द नै भएछ । २०२५ सालमा बन्दीपुरबाट सदरमुकाम दमौली झरेको थियो । बन्दीपुर मृत्युशैय्यामा पुगेको थियो । एक्लिएको सुनसान बन्दीपुरका पुस्तकालयमा गएर पढ्ने भएनन् । ५० को दशकमा त झण्डै अस्तित्व मेटिएनछ । त्यतिबेला बन्दीपुरेहरू मिलेर पुस्तकालयलाई जोगाए, जिर्णेदार गरे । २०५२ सालमा पुस्तकालयको जिर्णोदार गरेको बन्दीपुर पुस्तकालय सञ्चालक समितिकी अध्यक्ष विमला श्रेष्ठ बताउँछिन् । पहिलाको भवनको फोटो खिचेर राखेर दुरुस्तै जिर्णोदार गरेको उनको भनाइ छ ।

जिर्णोदार गरेर पुस्तकालय त जोगाईयो तर पाठकको चासो घट्दो छ । ‘पहिला यहाँ सबै खाले मान्छे पढ्न आउथे । अहिले मोबाइल इन्टरनेटको जमाना आएपछि चाहिँ पाठकको कमी छ । अहिलेको समयअनुसार पर्याप्त मात्रमा किताब नपुगेको हो जस्तो लाग्छ,’ उनले भनिन् । कहिलेकाँही विदेशी पर्यटक आएर पुस्तकालय पसेर पढ्छन् । ‘पुस्तकालयमा भएका पुराना पुस्तकको महत्व कति छ भनेर विदेशीले सुनाउँछन् । हामीलाई पत्तै छैन्’, उनले भनिन् ।

पुस्तकालयलाई माथी उकास्न बन्दीपुरेको चासो भएपनि पर्यटकीय क्षेत्र भएकाले कसैले समय दिन नभ्याएको विमला बताँछिन् । पुस्तकालयलाई इ–लाइब्रेरी बनाउन लागेको उनले सुनाईन् । इ-लाइब्रेरी बनेपछि पाठक बढ्ने आशा छ उनीसँग ।

बन्दीपुर पद्म पुस्तकालयलाई प्रविधिमैत्री इ-लाइब्रेरी बनाउन कस्किएका छन पुस्तकालयलाई माया गर्ने बन्दीपुरेहरू । क्यानडाबाट रत्नकुमार श्रेष्ठ र काठमाडौँबाट चिजकुमार श्रेष्ठ जुटिरहेका छन् इ-लाइब्रेरी बनाउँन । चिजकुमारका अनुसार इ-लाइब्रेरी बनाउन आर्थिक संकलन भरहको छ । ‘ई-लाइब्रेरीसँगै पुस्तकालयलाई नयाँ स्वरुप दिने प्रयास हो । अहिलेसम्म क्याटलग पनि छैन् । म्यानुअल्लि चलिरहेको छ । ई-लाईब्रेरी बनाएर क्याटलगका लागि आवश्यक सफ्टवयेर पनि राखिनेछ,’ उनले भने ।

इ-लाइब्रेरी बनाउन एक लाख ५० हजार रुपैयाँ बिउ पुँजी संकलन भइसकेको चिजकुमारले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ । उनको ६ लाख रुपैयाँ बजेट भएमा ई–लाइब्रेरी बनाएर स्वरुप फेर्न सकिने अनुमान छ । पुस्तकालयको अक्षय कोषमा पनि ६ लाख रुपैयाँ जम्मा भएको सञ्चालक समितिले जनाएको छ । पुस्तकालयभित्रको स्वरुप फेरिएर व्यवस्थित बनोस् । इतिहास बोल्ने पुराना पुस्तकहरु पनि जोगिओस् भन्ने आम बन्दीपुरे चाहान्छन् ।