नबाँधौँ ‘फूलको राजा’लाई एउटा उत्सवमा

नबाँधौँ ‘फूलको राजा’लाई एउटा उत्सवमा


  • शोभा काफ्ले खतिवडा

दिवस नै हो तिम्रो यदि भने मायाको ओशले
सम्मान छ तिमीलाई प्रिय गुलाफ !
फूल मात्र हौ यदि तिमी सुन्दर सुवासित भने
मेरो मायालाई समर्पित छौ गुलाफ !
पूष्प हौ पवित्र मनमोहक यदि भने सहस्र बन्दना दुई कर जोडेर गुलाफ !
हरेक पर्वमा शुभ कार्यमा र पूजामा चढ्ने हौ भने
कर्मले पुष्पित हौ – कामना मेरो गुलाफ !!

तिमी हरेक स्थान पर्व र पूजामा विशेष छौ
तब त जगत्मा राज्य छ तिम्रो !
तिमीलाई केवल कुनै एक खास दिवसमा
बाँध्न मन पराउन्न कदापि !
किनकि तिमी स्वयम् नै सर्वत्र अमूल्य र
अनमोल पूर्ण पर्व झैँ लाग्छ मलाई !

पूजाको थालीमा तिमी-
ईश्वरसितको सम्पूर्ण आशीर्वादप्राप्तिको साधन !
शुभ कार्यमा तिम्रो अपरिहार्यता चारैतर्फ सौन्दर्य-सुवासित पारिदिन !
माया गर्ने मन र हातको तिमी मायाले भरिएको
शोभा बढाइदिने श्याम सखाको मन !!
जूनसुकै स्थानमा तिम्रो उपस्थिति त्यो कार्यको
पूर्ण घडा झैँ अनमोल साधन !

तिमीलाई छुँदा रमाउने मनहरूको
आशीर्वाद लिएर त हेर एक पटक.. गुलाफ !
तिमीलाई देख्दा हर्षित हुने मनहरूको
हर्षको शुभकामनाको रंगमा त रङ्गीएर हेर !
तिमीलाई बगैँचामा सुटुक्क टिपी तिमीसँग रमाउने
प्रिय मनसित हराऊ एक पटक !!
अनि तिमी हुँदा पूर्ण हुने पूजाको स्थानदेखि..
हरेक शुभ कार्यस्थल र ईश्वरीय धाम हेर त पटक पटक !

तिमी विश्व रंगमञ्चको फूलहरूको महानायक र त नाम तिम्रो गुलाफ !
सुगन्धित अत्तरमा मिसिएर हृदय रमाउने वासना र फूलको तिमी नायक !
जहाँ फुल्छौ यश पाउन सक्षम बन्दछौ तिमी, यसैले स्वयं स्वाधीन मिठो सुवास !
हरपल सम्मान मात्र पाउने तिम्रो महिमामण्डित नाम सुन्दर गुलाफ !

तर तिम्रो सम्मान गर्नेलाई आशीर्वाद दिन कदापि नडराऊ गुलाफ !
तिमीलाई हृदयको भावसित जोड्नेहरूको हृदयमा बस टुसुक्क प्रिय गुलाफ !
तिमी झैँ सुरक्षित बनेर हुर्कन शिक्षा देऊ
हरेक मनलाई फूल गुलाफ !
जस्तो परिवेशमा पनि रमाएर फुल्नुपर्छ भनी
चेतनाको दीप बालिदेऊ गुलाफ !

नमन तिमीमा गुलाफ !
तिमी एक विशेषमा नबाँधिनु है गुलाफ ?!

(‘भ्यालेन्टाइन डे’मा गुलाफप्रति दर्शाइने आकर्षणबाट प्रेरित हुँदै)
– शुभा