‘मोम्चो’ माथि परिचर्चा

‘मोम्चो’ माथि परिचर्चा



नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्ग्रह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । शनिबार चितवनमा आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो यथार्थतालाई जीवन्त रुपमा उजागर गरेको समालोचकले टिप्पणी गरे ।

कार्यक्रममा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी जननी भएको जनाउँदै उनीहरुमाथि हुने हिंसा रोक्न यो कथा सङ्ग्रह सार्थक बनेको बताइन् । ‘पितृसतात्मक प्रवृत्ति उजागर गर्न मोम्चो कथा सङ्ग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचारजस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो’, उनको भनाइ थियो ।

समालोचक डा. एकनारायण पौडेलले कथा सङ्ग्रहभित्र आन्चलिकता प्रवल मात्रामा देखिएको उल्लेख गर्दै खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको बताए ।

समीक्षक रमेश प्रभातले कथाभित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नुपरेको कथामा समेटिएको उल्लेख गरे । ‘सम्पूर्ण किताब नारायणगढ’को आयोजनामा सम्पन्न कार्यक्रममा कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुमा लेखिएको मोम्चोमा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको जानकारी दिए ।

साहित्यकार गोविन्दराज विनोदीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एलबी क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यासजस्तो बृहत् नहुने बताए ।

भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ कथा छन् । कथाकार पराजुलीको मोम्चा दोस्रो कथा सङ्ग्रह हो । उनी डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथा सङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उनी गोरखापत्र दैनिकका चितवन संवाददाता पनि हुन् ।