पीडित पक्षसँग आठबुँदे सहमतिपछि खुल्यो सडक

पीडित पक्षसँग आठबुँदे सहमतिपछि खुल्यो सडक


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा हिजो आइतबार भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानीयले बन्द गरेको सडक खुलेको छ ।

तौलिहवाबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको आइसर ट्रकले विपरित दिशाबाट आउँदै गरेको लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट बाणगंगा ११ का अनिल मगरको घटनास्थलमै ज्यान गएको थियो ।

ट्रक चालकको गम्भीर लापर्वाहीका कारण ज्यान गएको भन्दै स्थानीयले हिजोदेखि नै टायर बालेर सडक अवरुद्ध गराएका थिए । आक्रोशित स्थानीयले हिजो ओदारीमा रहेको प्रहरी विटमा तोडफोड समेत गरेका थिए ।

सयौको संख्यामा जम्मा भएर विरोध जनाएपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । चालकको लापर्वाहीले स्थानीयको ज्यान गएको भन्दै चालकलाई हद सम्मको कारवाहीको माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् । हिजो रातिदेखि तनावग्रस्त बनेको ओदारीमा अहिले भने जनजीवन सामान्य बनेको छ ।

पीडित पक्षसँग ८ बुँदे लिखित सम्झौता भएपछि सडक खुलेको हो ।

सम्झौताअनुसार दुर्घटनामा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतिपूर्ति, चालकलाई कडा कार्वाही, ओदारी प्रहरी विटका प्रमुख परिवर्तन, प्रत्यक्षदर्शीको भनाइ र घटनास्थलबाट करिव ८० मिटर घिसारेर ज्यान गएको हुँदा हदैसम्मको हुनुपर्ने लिखित सम्झौतापछि सडक खुलेको हो । अहिले स्थिति सामान्य बनेको छ ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं ११ का वडाध्यक्ष सोमनाथ अर्याल, लुम्बिनी दर्पणका प्रधानसम्पादक मोहन बेल्वासे, हर्टविट एफएमका स्टेशन म्यानेजर हरि घिमिरे, स्थानीय बुद्धिजीवी, पीडितका बुबाआमा, आफन्तजन, छिमेकी, स्थानीय वासिन्दा लगायतको छलफलपछि ८ बुँदे सहमति गरेर सडक खुलाइएको र पीडितलाई न्यायका लागि अझै लागिपर्ने वडाध्यक्ष अर्यालले बताएका छन् ।

यो पनि हेर्नुहोस्-