रुसी सेनाले भन्यो- युक्रेनमा मानवीय अवस्था डरलाग्दो

रुसी सेनाले भन्यो- युक्रेनमा मानवीय अवस्था डरलाग्दो


युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएको दाबी

युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही शहरमा डरलाग्दो अवस्था देखिएको छ’, रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भनेका छन् ।

युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यान्न र औषधिबाट वन्चित भएको उनले बताए ।

दक्षिणपूर्वी बन्दरगाह शहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरुले घेरा हालेको शहरमा लाखौं मानिस फसेको उनले बताए । ‘विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रवादीहरुले नियन्त्रणमा लिएका छन्’, उनले भने । युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।