राज्यको शासन र प्रशासनबाट एमालेलाई पूरै बढार्ने योजना

राज्यको शासन र प्रशासनबाट एमालेलाई पूरै बढार्ने योजना


एमालेको बर्बादीमा मात्र आफ्नो भविष्य सुरक्षित देख्ने काङ्ग्रेस नेतृत्वले प्रचण्ड र माधवलाई प्रयोग गरेर एमाले सिध्याउने र एमाले सकिएपछि प्रचण्ड र माधवहरूको हैसियत पनि सिध्याउने जुन योजना बनाएको छ, त्यसमा पश्चिमा शक्तिको समेत चाहना, योजना र रणनीति लुकेको सङ्केतहरू देखिएका छन् ।

आगामी निर्वाचनपश्चात पनि राज्यसत्ता आफ्नो नियन्त्रणमा कायम राख्ने रणनीतिक योजनाका साथ सत्तारुढ गठबन्धनले गृहकार्य शुरु गरेको छ । नेकपा एमालेबाट छुट्टिएको माधव नेपाल समूह, उपेन्द्र यादव नेतृत्वको मधेशकेन्द्रीत समूह र प्रचण्डनेतृत्वको माओवादी एकजुट भएर एमालेलाई निर्वाचनको मैदानमै सिध्याउने योजनामा रहेको तिनका अभिव्यक्ति र क्रियाकलापले दिइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘अहङ्कार’लाई चकनाचुर बनाएर उनलाई आफ्नो औकात देखाउन उल्लिखित तीन समूह कस्सिएका छन् । काङ्ग्रेसले यसलाई सुवर्ण अवसरको रूपमा बुझेको छ ।

गत संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ तेइस स्थानमा मात्र विजय हाशील गरेर खुम्चिनु परेको पीडाबाट मुक्ति पाउने आशा यसपटक काङ्ग्रेस नेतृत्वले राखेको छ । माओवादी, मधेशकेन्द्रीत समूह र माधव नेपालसँग चुनावी गठबन्धन बनाउँदा संसद्को ठूलो दल बन्ने विश्वास काङ्ग्रेस नेतृत्वले गरेको छ ।

गत (२०७४) संसदीय निर्वाचनमा माओवादीलाई आफूसँग राख्न नसक्दा कम्युनिष्टहरू एक भएर चुनावी मैदानमा उत्रिएको र, त्यसैकारणले काङ्ग्रेस नराम्रोसँग पराजित हुनुपरेको भन्ने निष्कर्श शेरबहादुर देउवाको छ । गत संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये चालिस स्थान माओवादीले मागेको थियो । तर देउवा त्यसबेला जम्मा बीस स्थान मात्र माओवादीलाई छोड्न राजी भएका थिए । स्थानीय (गत) निर्वाचनमा काङ्ग्रेससँग मिलेर ठूलो उपलब्धी हाशील गर्न सफल माओवादीले मागेजति स्थान नपाएपछि केपी ओलीको आकर्षक प्रस्तावमा सहमति जनाउँदै एमालेसँग चुनावी गठबन्धन गर्न पुगेको थियो । निर्वाचन परिणामले २३ स्थानमा सीमित गरिदिएपछि भएको क्षतिपूर्ति गर्ने दाउमा देउवा रहेका छन् ।

यसपटक १२० स्थान काङ्ग्रेसले लिएर पैंतालिस स्थानमा अन्य दलहरूलाई समर्थन गर्ने योजना देउवाले बनाएको बताइन्छ । तर कम्युनिष्टहरूले पैंसठ्ठी स्थान गठबन्धनका सहयात्रीहरूलाई दिएर एक सय स्थानमा मात्र आफ्ना उम्मेदवार खडा गर्न काङ्ग्रेससमक्ष अनौपचारिक तथा औपचारिक तवरमै प्रस्ताव राखेका छन् ।

संसदीय निर्वाचन परिणाम आफ्नो (गठबन्धनको) पक्षमा ल्याउन स्थानीय निर्वाचनमा समेत सत्तापक्षीय दलहरूबीच तालमेल मिलाउनुपर्ने धारणा कम्युनिष्ट नेताहरूको छ र, शेरबहादुर देउवासमक्ष उनीहरूले यस्तो प्रस्ताव प्रस्तुत गरेका छन् । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गराउने धारणा गठबन्धनका नेताहरूसमक्ष राख्दै आएका थिए र, माधवको धारणामा माओवादीको पनि सहमति रहँदै आएको थियो । तर वैशाखभित्रै स्थानीय निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यताले उनीहरू तीन तहको निर्वाचन एकैपटक गराउने योजनालाई कार्यान्वयनमा ल्याउन असमर्थ रहे । कुनै विशेष स्थिति उत्पन्न भएन भने स्थानीय निर्वाचन आगामी वैशाखमै सम्पन्न हुने निश्चित छ ।

शेरबहादुर देउवा स्थानीय निर्वाचनमा कम्युनिष्ट घटकहरूसँग चुनावी तालमेल गर्ने मानसिकतामा पहिले थिएनन् । स्थानीयमा प्रचण्ड-माधवसँग तालमेल नभए त्यसको असर संसदीय निर्वाचनमा समेत पर्ने भएकोले देउवा स्थानीय तहको निर्वाचनमा पनि कम्युनिष्टहरूसँग मिलेर चुनाव लड्ने निचोडमा पुगेका छन् । कुनै अदृष्य शक्तिले रोकेको या कुनै अप्रत्याशित घटना भएको अवस्थामा बाहेक अब काङ्ग्रेसले कम्युनिष्टसँग चुनावी गठबन्धन गर्ने निश्चित मानिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, वीरगञ्ज, धरान, नेपालगञ्ज, भरतपुर र बुटवललगायतका प्रमुख नगरहरू शक्ति, सामथ्र्य र उम्मेदवारको प्रभावकारिताका आधारमा भागबण्डा गर्ने र देशका सबै पालिकाहरूबाट एमालेलाई सफाया गर्ने योजनामा सत्ता–गठबन्धन लागिपरेको छ । देशका सबै (७५३) वा अधिकाङ्श (६०० भन्दा बढी) पालिकाहरूमा एमालेलाई शुन्य बनाउन सकियो भने आगामी संसदीय निर्वाचनमा पनि एमालेलाई बढार्न सकिन्छ भन्ने विश्वासमा उनीहरू रहेका छन् ।

संवैधानिक लगायत एमाले सरकारबाट विगतमा भएका सबै राजनीतिक नियुक्तिहरू ‘बदर’ गराइ रिक्त स्थानमा भागबण्डाका आधारमा आफ्ना मानिसहरू भर्ति गर्ने योजना पनि सत्ता-गठबन्धनले बनाएको छ । त्यसनिम्ति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई निलम्बनमा राखेर गठबन्धनले ‘कानूनी अनुकुलता’को स्थिति सिर्जना गरेको ठानेको छ । अब ‘स्थान रिक्तता र नयाँ भर्ना’मा अदालती सहयोग पुग्ने गठबन्धनको ठहर छ ।

यसरी राजनीतिक र प्रशासनिक संयन्त्रहरूबाट एमालेलाई एक्ल्याउन सत्ता-गठबन्धन लागिपरेको छ । एमालेको बर्बादीमा मात्र आफ्नो भविष्य सुरक्षित देख्ने काङ्ग्रेस नेतृत्वले प्रचण्ड र माधवलाई प्रयोग गरेर एमाले सिध्याउने र एमाले सकिएपछि प्रचण्ड र माधवहरूको हैसियत पनि सिध्याउने जुन योजना बनाएको छ, त्यसमा पश्चिमा शक्तिको समेत चाहना, योजना र रणनीति लुकेको सङ्केतहरू देखिएका छन् ।