प्रधानमन्त्रीको भारत भमण : ‘सम्बन्ध सुधार’मा योगदान

प्रधानमन्त्रीको भारत भमण : ‘सम्बन्ध सुधार’मा योगदान


पछिल्लो समय गिजोलिँदै गरेको नेपाल-भारत सम्बन्ध सुधारमा प्रधानमन्त्री देउवाद्वारा गरिएको भारत भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बितेको सप्ताहन्त गरिएको छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे पक्ष र विपक्षमा ब्याख्या-विश्लेषण वा टीकाटिप्पणी भइरहेका छन् । स्वभावतः सरकार वा सरकारसमर्थक पक्षले प्रधानमन्त्रीको भ्रमणलाई निकै महत्वपूर्ण, उपलब्धिमूलक भनी प्रचारप्रसार गर्ने प्रयत्न गर्छ । अतिरञ्जनापूर्ण प्रशंसा गर्न सत्तापक्षले जोडबल लगाउँछ र, अतिरञ्जनालाई यथार्थकै भ्रम दिन उद्यत् रहन्छ । यस्तै, विपक्षीले नकारात्मक कोणबाट मात्र भ्रमणको व्याख्या गर्न खोज्छ । राम्रा पक्ष लुकाएर आलोच्य कुराहरू जनमानसमा पु¥याउन सक्नुलाई विरोधिपक्षले आफ्नो सफलता ठान्दछ । प्रधानमन्त्रीको यसपटकको भ्रमणबारे पनि यस्तै उपक्रम शुरु हुनु अस्वाभाविक विषय होइन ।

प्रधानमन्त्री देउवाद्वारा गरिएको यसपटकको भारत भ्रमणको सबभन्दा सकारात्मक पाटो भनेको, विभिन्न स्वाभाविक-अस्वाभाविक घटनाका कारण सर्वाधिक नजिकको छिमेकी मुलुकसँग राजनीतिक रूपमा चिसिँदै गएको वा तिक्तताको अवस्थाबाट गुज्रिरहेको सम्बन्धलाई पुनः मधुर तुल्याउन यस भ्रमणले निकै हदसम्म भूमिका खेलेको छ, खेल्ने आशा जगाएको छ । भारत जस्तो विशाल र शक्तिशाली छिमेकीसँग तिक्त बन्न लागेको सम्बन्धलाई पुनः मधुर तुल्याउने वा स्वाभाविक मार्गमा ल्याउने, रहे/भएका असमझदारी आदिलाई सार्थक छलफल/सम्वादको माध्यमबाट सुल्झाउने सवालमा पुनः मूलढोका उघ्रिएको परिवेशका रूपमा यस उच्चस्तरीय भ्रमणलाई लिन सकिन्छ । भारतले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएबाट यसको पुष्टि हुन्छ ।

‘प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवम् सहकार्यलाई थप प्रगाढ बनाउन योगदान पुगेको’ भारतीय प्रतिक्रिया यदि कुटनीतिक मर्यादा राख्नका लागि मात्र होइन भने नेपाल-भारत सम्बन्ध सुधारमा यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्नैपर्छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाईमा पुऱ्याउन योगदान गर्नुका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको र, दुई देशका प्रधानमन्त्रीबीचको वार्ता ‘फलदायी’ रहेकोले विविध क्षेत्रमा विस्तारित द्विपक्षीय सहयोगका विषयलाई त्यसले आकार दिएको नयाँदिल्लीको औपचारिक प्रतिक्रियाको अन्तर्य अर्थपूर्ण छ ।

दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि भएको रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी, नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम (आइओसी)बीच पेट्रोलियम पदार्थ उत्पादनको आपूर्तिसम्बन्धी समझदारी, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता आदानप्रदान गर्न गरिएको सम्झौता तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त घोषणालाई मित्रराष्ट्र भारतले उपलब्धिमूलक बताएको छ । सम्बन्धित विज्ञजनले पनि विद्युत् ब्यापारको सवालमा ‘ब्रेक थ्रु’ भएको प्रतिक्रिया दिएका छन् । आर्थिक तथा व्यापार विषयमा विचार आदानप्रदान गर्नुका साथै व्यापार, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई अझ घनीभूत बनाउने, आवागमन सहज तुल्याउने, नेपाललाई दीर्घकालीनरूपमा भारतबाट मलको आपूर्ति सहज बनाउने र पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चवर्षीय सम्झौताको नवीकरण भएकोमा दुवै प्रधानमन्त्रीले त्यसकोे स्वागत गरेका छन् । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनार्थ तीव्र गतिमा काम गर्न दुवै पक्ष सहमत भएका छन् भने दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका खातिर सहयोगका अभूतपूर्व अवसरहरूबारे छलफल गर्नाका साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाएका छन् । यी सबै भ्रमणको सकारात्मक पाटा हुन् ।

तथापि, निर्वाचनको मुखैमा गरिएको भारत भ्रमणको उद्देश्य नै प्रष्ट नपारिएको, प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा परराष्ट्र मन्त्रालयबाट कुनै प्रतिनिधित्व नगराइ अपारदर्शी वार्ता गरेको, भारतको विपक्षी दल काङ्ग्रेस आइलाई पूरै उपेक्षा गरी सत्तारुढ भाजपालाई महत्व दिएको र भाजपाका नेताहरूसँग भ्रमणको कार्यतालिकाबिना नै भेटघाट गरेको लगायत सन्दर्भ कोट्याएर प्रधानमन्त्री देउवा एवम् भारत भ्रमणको आलोचना गरिएको छ । भारतसँग जे-जस्ता सम्झौता वा सहमति गरिए पनि त्यसको पालना या कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको विषय पनि कतिपयले उठाएका छन् । यस्ता विषयलाई फगत आलोचनाको निम्ति गरिएको आलोचना भनेर पन्छाउन पनि नमिल्ला, तर पछिल्लो समय गिजोलिँदै गरेको नेपाल-भारत सम्बन्ध सुधारमा यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वीकार गर्नैपर्छ । यावत विषयहरू आफ्नै ठाउँमा छन्, कैयन वर्षदेखि चाङ लागेका समस्याहरू प्रधानमन्त्री देउवाद्वारा समाधान हुने आशा-अपेक्षा गर्नु आफैमा हास्यास्पद विषय बन्न सक्छ । तर प्रधानमन्त्रीको तीन दिवसीय भारत भ्रमण दूरगामी दृष्टिले औचित्यपूर्ण नै मान्न सकिन्छ ।