चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको

चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको


  • हरिप्रसाद भुसाल, अर्घाखाँची

अर्घाखाँचीसहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ ।

जारी मतगणनामा देशभर एमाले कमजोर देखियो, तर अर्घाखाँचीमा भने एमालेले शानदार नतिजा हात पारेको छ । जिल्लाका ६ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले एक्लैले दुई गाउँपालिका सहित एक नगरपालिका जितेको छ भने एक नगरपालिकामा उपप्रमुख र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलविरुद्ध केवल एउटा पालिका जितेको एमालेले यो पटक आफूइतरको सबै शक्तिसँग एक्लै प्रतिष्पर्धा गर्दा पनि शानदार जित हात पारेपछि अर्घाखाँची तरंगित भएको छ । अझ हारेका ठाउँमा समेत एमाले केही सय मतले मात्र पराजित भएको छ भने ६१ वडा मध्ये ३० वडा आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

टोपबहादुर रायमाझीको संघर्ष

स्थानयि तहको चुनावको मिति घोषणा भएदेखि नै टोपबहादुर रायमाझीले अर्घाखाँची छोडेनन् । आफ्नो भावी संघीय संसदको चुनावको रिहर्सलको रुपमा रायमाझीले यो निर्वाचनलाई दिलो ज्यान दिएर उपयोग गरे । कतिपयले यो निर्वाचनमा हार ब्यहोर्नुपर्ने अवस्थालाई रायमाझीको संघीय संसदको पराजयको रुपमा व्याख्या गरे । जसका कारण पनि रायमाझी स्वयंको लागि यो निर्वाचन प्रतिष्ठाको विषय बन्यो ।

माओवादीमा रहेकाहरुलाइ एमालेमा फर्काउनेदेखि लिएर अन्य पार्टीमा रहेकाहरुलाई एमाले भित्र्याउन रायमाझीले कठिन संघर्ष गरे । यसबीचमा रायमाझीले हजारौँलाई पार्टी प्रवेश गराए । उनका पुराना सहकर्मीहरु नै विश्लेषण गर्थे, “रायमाझीले यत्ति मेहनत माओवादीमा गरेको भए माओवादी नै जिल्लाको पहिलो शक्ति बन्थ्यो ।“

कतिपयले रायमाझी मन्त्री पदको लागि एमालेमा गएको टिप्पणी गरे, कतिपयले माओवादीको भविष्य नदेखेर बाटो परिवर्तन गरेको आरोप लगाए । कतिपयले रायमाझीलाई अवसरवादीको रुपमा चित्रण गरे । तर रायमाझी विचलित भएनन्, कठोर परिश्रमपछि जिल्लामा एमालेलाई पहिलो शक्ति बनाए ।

एमालेको चुस्त संगठन, उम्मेदवार चयनमा कुशलता

उम्मेद्वार चयनताका एमालेमा छिटफुट विरोध देखिएको थियो । सतहमा समेत देखिएका केही असन्तुष्टिहरुलाई एमालेले यति कुशलताका साथ निवारण गऱ्यो अनि एमाले एकढिक्का भएर निर्वाचनमा होमियो । जसका कारण एमालेको असन्तुष्टिमा खेल्ने विपक्षीको सपना चकनाचुर भयो ।

एकढिक्का बनेको एमालेले विपरीत शक्तिको अन्तरसंघर्षमा पनि मज्जाले खेल्यो । खासगरी उम्मेदवारी चयनको क्रममा नेपाली कांग्रेसमा देखिएको असन्तुष्टि क्यास गरेर अगाडि बढ्न सफल हुनुलाई नै जितको मुख्य आधार देख्छन् केही विश्लेषकहरु । अझ सिंगो अर्घाखाँचीको एमालेलाई आफ्नो नियन्त्रणमा राख्न सफल पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य चेतनारायण आचार्य पनि यो सफलता प्राप्तिको हकदार रहेको विश्लेकहरु बताउने गरेका छन् । त्यस्तै एमालेको चुस्त संगठन पनि यो सफलता प्राप्तिको कारण रहेको बताइन्छ, जसका कारण एमाले अनेक संघर्ष चिर्दै पहिलो शक्ति बन्न सफल भएको छ ।