नखुलेका पाटाहरू !

नखुलेका पाटाहरू !


मुलुकमा विखण्डन भित्र्याउन खोज्नेहरू फगत् जातिवादी, पृथकतावादी र नश्लवादीहरू हुन् । पञ्चायती व्यवस्थामा विखण्डनवादी कुरा गर्दा हुन् त चौखुऱ्याएर झ्यालखानामा जाकिन्थ्यो । बहुदलीय लोकतन्त्रमा बोल्न छुट छ । बेसी बैगुन छँदाछँदै पनि आफूलाई सिध्याउन खोज्नेलाई बोल्न स्वतन्त्रता दिनु नै यसको ठूलो गुण हो ।
  • बलराम सिलवाल

प्राचीन/मध्यकालीन इतिहासलाई आधुनिक चस्माले हेरेर हुँदैन । तत्कालीन परिवेशमा जायज अहिले नाजायज हुन्छ । उहिले नाजायज ठहरिएको अहिले जायज हुन्छ । कतिपय सत्य त समयसापेक्ष हुन्छ । महाभारतको द्रौपदीले पाँच पतिहरू भोग्दा जायज थियो । लडाइँ र मायामा सर्वथोक जायज हुन्छ । अचेल काजी-पाजीहरू पृथ्वीनारायणले अत्याचार गरे भनेर कुर्लन्छन् । उनको स्वार्थ भन्नु नै नेपालको एकीकरण ! निःसन्देह पृथ्वीनारायण राष्ट्रनिर्माता हुन् । एकीकरणको उपक्रममा भएका केही अर्घेल्याइँ उधिनेर उनको इज्जतमा हिलो छ्याप्नु कदापि राम्रो होइन- चेतना भया । उनले विशाल नेपालको एकीकरण नगरेको भए हामी भारतीय हुन्थ्यौँ कि चीनियाँ । शाह वंशभित्र पनि कुलङ्गार नभएका होइनन् । पृथ्वीनारायणलाई प्रतापसिंहको ब्यहोरा मन परेको थिएन किन्तु प्रतापसिंह प्रतापसिंह नै रह्यो । स्त्रीलम्पट हुनु र दरबारिया भोगविलासमा लिप्त हुनुमा नै उसको जीवन निरर्थक बित्यो । रणबहादुर, राजेन्द्र र सुरेन्द्र जस्ता जोइटिङ्ग्रे र विक्षिप्त राजाहरूले गर्दा विदेशीहरूले नेपालको राजनीतिमा हस्तक्षेप गर्न भ्याए । गोपाल वंशबाट शुरू भएको राज-इतिहास शाह वंशमा टुंगियो ।

सोमवर्माको बखतमा नेपाल कन्याकुमारीसम्म फैलिएको मानिन्छ । समयको फेरमा नेपाल टुक्रियो : यक्ष मल्लले त नेपाल आफ्ना छोराहरूलाई अंशबण्डा नै लगाए । पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गरेका होइनन्, एकीकरण गरेका हुन् । कालु पाण्डे जस्ता होनहार काजी गुमाएर तेस्रो पल्टमा धामासित कीर्तिपुर हत्याए । हार्दा कीर्तिपुरेको ‘नाक गयो’ भनिएको हो । उपत्यकाबाट खेदिएका केपुचिन पादरीहरूले (यिनीहरूलाई पृथ्वीनारायण शाहले राष्ट्रिय अस्मितामा खतरा पुऱ्याउँछ भनेर काठमाडौं उपत्यकाबाट धपाएका थिए) पृथ्वीनारायणसित प्रतिशोध साँध्न उनले ‘कीर्तिपुरेको सत्र धार्नी नाक/कान काटेर बदला लिए’ भनेर आफ्नो पोस्तकमा लेखिदिए । पृथ्वीनारायणको अस्तित्व नकार्ने मुकुन्द मनोग्रस्त त छैनन् ?! समालोचना नगरीकन गोरा/कालाको बुई चढेर आफ्नो कान छाम्नुको साटो कौवाको पछि दगुर्नु त भएन नि !

ऐतिहासिक धरोहरको संरक्षण हुनु अत्यावश्यक भएको बोध नगरी पुगनपुग दुई हजार वर्ष पुरानो वामियानको बुद्धमुर्ति भत्काउने तालिवान र हनुमानढोकाको प्रताप मल्लको शिलालेख फुटाउने झुण्ड मानसिक रूपले ठिक होलान् र ? दैनिक लेखन र धरोहरको संरक्षण नेपालीबाट हुन सक्या छैन । ऐतिहासिक तथ्यको सिंहावलोकन गर्नुपर्छ । मुलुकमा विखण्डन भित्र्याउन खोज्नेहरू फगत् जातिवादी, पृथकतावादी र नश्लवादीहरू हुन् । पञ्चायती व्यवस्थामा विखण्डनवादी कुरा गर्दा हुन् त चौखुऱ्याएर झ्यालखानामा जाकिन्थ्यो । बहुदलीय लोकतन्त्रमा बोल्न छुट छ । बेसी बैगुन छँदाछँदै पनि आफूलाई सिध्याउन खोज्नेलाई बोल्न स्वतन्त्रता दिनु नै यसको ठूलो गुण हो ।

शुरुवाती दिनमा माओवादीले शोषक/सामन्तहरूलाई कारवाही गर्दा क्याबात् भनियो । कोही शोषकले ठाउँ फेरे त कोही सामन्तले डाँड तिरे । अन्ततोगत्वा माओवादीमा घुन लागेसी सर्वहारावर्गको सपना धुलिसात् भयो ।

पूर्वाग्रही दूराग्रही नै हो । जँड्याहा/रक्स्याहा/लताहाले आफ्नो बानी छोड्दैन । व्यभिचारको बढोत्तरी ! हुटेलमा सामाजिकीकरण हुन्न । अङ्ग्रेजी विभागमा आगो झोस्नेले माफ माग्यो । अर्काको लहैलहैमा लाग्नेले सत्यताको भेऊ पाउँदैन । तामसी भोजनले नकारात्मकता बढाउँछ । फलानो/ढिस्कानो/तिलानो मऱ्यो भन्दै गर्दा आफ्नो मर्ने दिन आइपुग्छ । छिमेकी मर्दा खुच्चिङ मार्ने बबुरो पनि कालपाशमा जाक्किन्छ है ! मान्छेलाई पापको डर किन नभएको होला ? कतै छोरोले बाऊ मारेको सुनिन्छ त कतै बाऊले छोरो मारेको कहिन्छ । जीवनदाताले जीवन लिन सक्ला तर जीवन दिन नसक्नेले जीवन लिनुहुन्न । राम्रो कामको राम्रो परिणाम, नराम्रो कामको नराम्रो परिणाम । पापको प्रायश्चित गर्छन् तर प्रायश्चित नहुन सक्छ । बाहुनमारा, गाईमारा र इज्जतमारा (परस्त्रीगमक/परपुरुषगामिनी) काशीमा कल्पवास बसे पनि वैतरणी तर्दैन भन्छ शास्त्र । जे होस् इहलौकिक सुखले पारलौकिक दुःख निम्त्याउँछ । मृत्युपछिको जीवन अनिश्चित । मनुष्यले बुद्धको रहस्य बुझेर उषाकालमा रोजिन्दा दश घडी भगवद् चिन्तन गर्दो हो त परब्रह्मले भवसागर पार गराउनुहुनेछ । तामसी भोजन बहिष्कार गर्दै पापकर्म त्यागौँ, धर्मकर्ममा जोडिऔँ ।

प्रवृत्तिको विरोध गर्ने हो, व्यक्तिको होइन । असल मनुष्यको खडेरी- खड्किने कुरो ! मान्छेले सानो-ठूलो पाप गर्दो छ । छोराछोरीले पाँच वर्ष उमेरभित्र गरेको पाप बाबुआमाले भुक्तान गर्छन् । बाबुआमाको कति ठूलो महिमा ! माण्डव्य ऋषिले कच्चा उमेरमा झिँगालाई सिन्कोमा उन्दा त्यही पापले ठूलो हुँदा सुलीमा चढ्नुपरो । पाप पाप हो; धर्म धर्म हो । आफ्नो दुष्कर्ममा पश्चाताप गर्नु नपरोस् ।

आफ्नो ब्रह्मले देखेको काम गर्नुपर्छ । चित्रगुप्तले पाप धर्मको खाता राख्छन् । उनले धर्मात्मीलाई धर्मराजकोमा र पापात्मीलाई यमराजकोमा पठाउँछन् । कहिलेकाहीँ भुलवश उल्टोपाल्टो परे पनि पाका/अनुभवी चित्रगुप्तले आफ्नो गल्ती सच्याउँछन् । कालले लगेको मनुवालाई यमराजले यदाकदा मत्र्यलोकमा फर्काउँछन् ।

मृत्यु अवश्यम्भावी । मृत्युसित डराएर मात्र क्यार्नु ? आखिर ढिलोचाँडो ब्यहोर्नैपर्छ । हरहमेशा मृत्युको विषयमा सोच्नु भएन नि । यसले विकास अवरुद्ध हुन्छ । मृत्युलाई के गरेर सार्थक बनाउन सकिन्छ, त्योचाहिँ दिनहुँ पन्ध्र मिनेट ध्यान गरेर सोच्न सकिन्छ । ब्रह्माण्ड रहस्यमय । आफू छ त संसार छ, आफू छैन त केही छैन । ब्रम्ह सत्य यही हो ।

हाम्रो समाजमा आइमाइलाई छोरी पाउँदा हियाउने गरिन्छ । सुवासिनीले धेरै छोरी जन्माई भनेर सौता हाल्ने चलन नौलो होइन । हामीले खेतमा धान रोपेर मकै फलाउँन्नौँ । धान फलाउन धान रोप्नुपर्छ; मकै फलाउन मकै रोप्नुपर्छ । महिला धर्ती समान । पुरुषले छोरी रोपेर छोरो पाउन सक्दैन । तसर्थ यस मामिलामा पुरुषले स्त्रीलाई छोरी मात्र जन्माइ भनेर दोषारोपण नगर्दा राम्रो ।

ऋतुमतीले चौथो दिनमा सखारै नुहाउनुपर्छ । नुहाएपछि जस्तो मान्छे देख्यो त्यस्तो स्वरूपको बच्चा गर्भधारण हुने भएकोले सुन्दर बच्चा जन्माउन स्नान पश्चात् सूर्य नारायण/स्वामीको दर्शन गर्नुपर्छ; राम्रो मान्छेको तस्बिर हेर्नुपर्छ । बाबुआमा सुन्दर भए पनि नराम्रो छोराछोरी जन्मिनुमा यही कारण हो ।

रावणले सीताजी हरण गरेर लङ्का पु¥यायो । यसपछि सीताजीको वियोगमा रामचन्द्र भगवान् यत्र-तत्र भौँतारिनुभयो । बाटोमा उहाँले मेरी सीतालाई देख्यौ भनेर सोध्दा उसले तिम्रो सीताको मलाई के वास्ता भन्दै टर्रो जवाफ दिएछ । यसपछि क्रुध्द रामचन्द्र भगवानले केराको बोटलाई सराप्नु भएछ, ‘अबदेखि तँ एकभन्दा बढी नफलेस् ।’ अद्यावधि एउटै बोटबाट केरा दुई पल्ट फलेको देखिन्न । सीताजीलाई खोज्ने क्रममा रामचन्द्र भगवानले कौवीलाई पनि उही प्रश्न सोध्नुभएछ । उसले पनि केराको बोटले झैँ टर्रो जवाफ दिएपछि भगवानले उसलाई सराप्नुभएछ, ‘अबदेखि तैँले दुई पल्ट फुल पारेर बच्चा हुर्काउन्नस् ।’ त्यतिबेलादेखि कौवीले दोस्रो पटक फुल पारेर बच्चा हुर्काउन्न ।

महाभारतकालीन घटना । पाँच पाण्डवको साझा पत्नी द्रौपदी थिइन् । एकेक महिनाको पालो थियो । चिन्हलको रूपमा ढोकामा खराउ हुन्थ्यो । एक दिन ढोकामा खराउ नदेखेपछि भाइ कोठाभित्र पसे तर त्यतिबेला द्रौपदी अर्को भाइसित रतिरागमा चुर्लुम्म थिइन् । के कारणले त्यो भुल हुन गयो भनेर जाँच्दाबुझ्दा त कुकुरले खराउ लगेको रहेछ । त्यसपछि कुकुरलाई श्राप दिइयो, ‘अबदेखि तेरो यौनलीला दुनियाँले देखोस् ।’ त्यतिबेलादेखि कात्तिक महिनामा कुकुरको लीला सार्वजनिक भएको यत्रतत्र देखिन्छ ।

सीताजीले पूजा गर्दा श्रीखण्ड चन्दन कर्कलो जस्तो वनस्पतिमा पर्न गएछ । त्यस वनस्पतिलाई अचेल दर्शन पिपल भनिन्छ जसमा सेतो र रातो थोप्लो अद्यावधि देख्न सकिन्छ ।

महिला पतिव्रता हुँदा त त्यस्तो समस्या होइन तर गोडा छोड्दा पारिवारिक/माया ममता/नागरिकता/सम्पत्ति भोगाधिकारको समस्या उब्जिन्छ । अहिले सपियुँ हैन बिपियुँ, सब्ल्याँटो हैन बिब्ल्याँटो दृष्टान्तहरू भेटिन्छन् । नारीको सम्मान हाम्रो परम्परा किन्तु केहीको अपकर्मले त्यो थानमान घटेको हो ।

के भन्ने र खोई ? नेपालीहरूको चालचलन हाँसको चाल न कुखुराको चाल भइसक्या छ । आफ्नो रीतिथिति त्याग्दै पराइसंस्कृति अँगाल्दै । जन्मोत्सवमा अष्ट चिरञ्जीवीको पूजा गरी दीपावली गर्नुपर्नेमा मैनबत्ती निभाएर केक काटिन्छ । दौरा-सुरुवाल, कोट र टोपी लगाउन लाज लाग्छ । आफूले पोकोपुन्तरो बोक्दा पाखे भइने डरले बाऊलाई पोकोपुन्तरो बोकाउने र लास्टाँ ‘माई सर्भेन्ट’ भन्दिने ! कहिलेकाहीँ त अचम्म लाग्छ बा ! आफू उल्टो हिँड्या हो कि जमाना उल्टो हिँड्या हो । सम्पूर्णतः अबोधगम्य ।

भिन्न चरित्रको हाम्रो समाज । भ्रष्टलाई पुज्ने, अनैतिकलाई जिताउने, नेताको ढोका चहार्ने, ताइँ न तुइँको गफ लडाउने, प्राकृतिक न्याय सिद्धान्त लतार्ने र बाह्रमासे जुवाडे/दुर्व्यसनीलाई सर्काउने प्रवृत्तिले अधोगति गराउँदो छ नेपालीजनलाई । यी कार्यकलापहरू बन्द गर्नु बेस । कवि भुपिले नेपाललाई हल्लैहल्लाको देश भन्थे, हो रहेछ । यहाँका तथाकथित मनुवाहरू आफ्नो बुद्धिविवेक सदुपयोग गर्नुको साटो हल्लाको पछि दगुर्ने । भाषिक विचलन । बैंसले मातेको कुखुराको भालेलाई च्वाँक भन्नुपर्नेमा राम्री केटीलाई च्वाँक भन्दिने । बस्तुलाई माल भनिन्थ्यो; अहिले त तरुनीलाई माल भनिँदोरहेछ । केटासाथीलाई भान्जा र केटी साथीलाई भान्जी अरे ! पवित्र शब्द भान्जाभान्जीको मौलिक अर्थको हुर्मत लिने भए कुप्रयोगकर्ताहरूले ।

मनोवैज्ञानिकताको हेराइमा मनुष्य दुई कोटीको : अन्तर्मुखी र बहिर्मुखी । अन्तर्मुखी मनुष्य लज्जालु, भीडभाडमा कम प्रस्तुत हुने, गमेर बोल्ने प्रवृत्तिको हुन्छ । बहिर्मुखी मान्छे फतौरे, गफाडी र बकबकाउने प्रवृत्तिको हुन्छ । ऊ ठूलो स्वरमा बोलेर बडप्पन दर्शाउने । ऊ कानले दुई पल्ट सुन्नु, आँखाले दुई पल्ट हेर्नुको साटो भटभट्याउँछ । प्रकृतिविरुद्ध हिँड्छ; त्यसैले दुःख पाउँछ अनि मनस्तापीको बिल्ला भिर्छ । कप्टीलाई भगवानले ठगेकै छन् । मुर्खलाई ठेउलाउनुपर्ने । नेपालीले बुद्धि नअर्चापेकोले पछि परेका । परदेशी नागरिकता लिँदा बधाई दिने कस्तो उल्टो संस्कार ?! पराई भूगोलमा छोराछोरी पठाउँदा ठूलो मान्छे होइन्छ भन्ठान्छ, यताहुँदी चार–पाँच दिनसम्म बाऊआमाको लास उठ्दैन । विदेशिएका कतिपयले त बाऊआमाको क्रियाकास्ट नि नगर्ने !

यो निबन्ध पूर्वाग्रहमुक्त छ । समाजको ऐना । ठेस नपरोस् । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।