‘स्वतन्त्र’हरूको विजयले पुराना दललाई चुनौती

‘स्वतन्त्र’हरूको विजयले पुराना दललाई चुनौती


जनमतमा अगाडि एमाले, विजयी काङ्ग्रेस !

माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले एमालेलाई धेरै पालिकाहरूमा विजयी बन्नबाट रोक्न सक्नुलाई पनि आफ्नो ठूलो सफलता मानेको छ । करिब एक सयभन्दा बढी पालिकामा समाजवादीकै कारण एमाले पराजित भएको ठहर उक्त समूहले गरेको छ ।

जनमतका दृष्टिले दोस्रो भए पनि पालिकास्तरीय निर्वाचनमा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी स्थानमा विजयी बन्ने सफलता प्राप्त गरेको छ । सभापति शेरबहादुर देउवाले यसलाई आफ्नो ठूलो सफलता मानेका छन् ।

विपरीत ध्रुवका कम्युनिष्ट वामपन्थीसँग चुनावी गठबन्धन गरेर अघि बढ्ने देउवाको कार्यनीतिप्रति गम्भीर असहमति जनाउँदै काङ्ग्रेसभित्रका एकथरी नेताहरू उनका विरुद्ध उत्रिएका थिए । उनीहरू माओवादीसँग मिलेर अघि बढ्न नहुने तर्क गर्दै थिए, तर देउवा माओवादीका एजेण्डामा हिँडिसकेपछि चुनावी गठबन्धनमा जान हिचकिचाउन नहुने अडानमा दृढ रहे । राजनीतिक रूपमा ठूलै क्षति पुर्‍याएको भए पनि चुनावी परिणामले काङ्ग्रेसलाई तत्कालका निम्ति लाभ पुर्‍याएको छ । काङ्ग्रेसलाई तीन सयभन्दा बढी पालिकामा विजयी बनाएको छ । त्यसैले चुनावी गठबन्धनका विरुद्ध काङ्ग्रेसमा प्रकट हुनेहरू यतिबेला नाजवाफ बनेका छन् ।

तर गठबन्धनबाट काङ्ग्रेस मात्र लाभान्वित भएको होइन । करिब तीसभन्दा बढी स्थानमा विजय हात पार्न सम्भव नदेखिएको माओवादी करिब सवासय पालिका हात पार्न सफल भएको छ भने पाँचभन्दा बढी पालिका जित्न नसक्ने ठानिएको समाजवादी डेढ दर्जन बढी पालिका प्राप्त गर्न सफल रहेको छ । यसरी चुनावी गठबन्धनबकाट काङ्ग्रेस, माओवादी र समाजवादी पार्टी भारी मात्रामा लाभान्वित हुन पुगेका छन् । माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले एमालेलाई धेरै पालिकाहरूमा विजयी बन्नबाट रोक्न सक्नुलाई पनि आफ्नो ठूलो सफलता मानेको छ । करिब एक सयभन्दा बढी पालिकामा समाजवादीकै कारण एमाले पराजित भएको ठहर उक्त समूहले गरेको छ र, यसैलाई अतिरिक्त सफलताका रूपमा उसले लिएको छ ।

संविधान निर्माणमा सहभागी पुराना दलहरूमध्ये जसपा र लोसपा यसपटक लाभान्वित हुन सकेनन् । सत्ता गठबन्धनमा सामेल भएर पनि जसपाले अपेक्षाकृत सफलता हाशील गर्न सकेन । कम्तिमा साठी पालिकामा विजय हात लाग्ने अपेक्षा गरेको जसपाले करिब डेढ दर्जन पालिकामै चित्त बुझाउनु परेको छ । सत्ता गठबन्धनभन्दा बाहिरको मधेशकेन्द्रीत समूह लोसपाले पनि स्थानीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकेन । चुनावी परिणामले क्षेत्रियतावादी दलहरूप्रतिको आकर्षण न्यून हुँदै गएको देखाएको छ ।

पुरानो दलमध्येकै एक राप्रपाले पार्टीको नेतृत्व परिवर्तनपश्चात देशको राम्रै राजनीतिक शक्ति बन्ने सपना देखेको थियो । परिणामले ‘मुसा मोटाएर हात्ती बन्न कहिल्यै सक्नेछैन’ भन्ने उक्ति चरितार्थ गरिदिएको छ । तीस वर्ष पञ्चायती सत्तामा रहेको र प्रजातन्त्र स्थापनापश्चात पनि पटक-पटक सत्तामा बसेको पूर्वपञ्चहरूको पार्टीले कम्तिमा तीस पालिका आफ्नो हातमा आउने ठानेको थियो । तर चुनावी परिणामले राप्रपालाई आफ्नो औकात देखाइदिएको छ, आधि दर्जन स्थानमा पनि उक्त समूहले विजय हात पार्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनका कारण देशकै सर्वाधिक शक्तिशाली पार्टी बन्न पाउने अवसरबाट बञ्चित भएको छ । सत्ता-घटकहरूबीच चुनावी गठबन्धन बन्नुको एक मात्र उद्देश्य एमालेको आकार खुम्च्याउनु थियो । यस उद्देश्यमा गठबन्धन सफल भएकोले सबैभन्दा ठूलो पार्टी बन्ने योजनामा एमाले असफल भएको छ, काङ्ग्रेसभन्दा एक सय बढी पालिका सङ्ख्या कम भएर एमाले करिब दुई सय स्थानमा सीमित हुनु परेको छ ।

तर पार्टी विभाजन भएको, भर्खरै मात्र सत्ताच्यूत हुनुपरेको र सत्तापक्ष गठबन्धन बनाएरै चुनावी मैदानमा उत्रिएको अवस्थामा पनि नेकपा एमालेले जति पालिकामा विजय हाशील गरेको छ, यसलाई कम भन्न मिल्ने देखिँदैन । खसेको मतमा सबैभन्दा बढी एमालेकै रहेको छ । एमालेले करिब छयालिस लाख मत पाउँदा काङ्ग्रेस चालिस लाख मतमै अड्किएको छ । माओवादीले कुल बीस लाख मत नघाउन सकेको छैन भने समाजवादी पाँच लाख मतको हाराहारीमा सीमित रहेको छ । त्यस्तै मधेशकेन्द्रीत समूह जसपा पनि पाँच लाख मतको आसपासमै छ । यसरी जनतमतका दृष्टिले एमाले सबैभन्दा अगाडि हुन पुगेको छ ।

स्थानीय तहको निर्वाचन परिणामले जनता विद्यमान दलहरूको विकल्पको खोजीमा रहेको देखाएको छ । काठमाडौं, धरान, धनगढी र जनकपुरलगायतका स्थानमा स्वतन्त्र उम्मेदवारहरूले दलका उम्मेदवारहरूलाई धेरै नै पछाडि पारेको घटनाले भरोसायोग्य उम्मेदवार पाउँदा जनता पुरानो दललाई परित्याग गर्न तयार हुन्छन् भन्ने स्पष्ट गरेको छ ।

स्थानीय निर्वाचनमा गठबन्धनलाई मिलेको सफलताले आगामी संसदीय निर्वाचन परिणाम पनि प्रभावित हुन सक्ने सम्भावना बढाएको छ । अहिलेकै जस्तो सत्ता-घटकहरूबीच चुनावी गठबन्धन बन्यो भने संसदीय निर्वाचनको परिणाम पनि गठबन्धनकै पक्षमा जान सक्ने देखिन्छ । विद्यमान गठबन्धन तोड्न या वृहत वामपन्थी चुनावी गठबन्धन बनाउन एमालेले सकेन भने आगामी संसदीय निर्वाचनले संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा काङ्ग्रेसलाई उभ्याइदिने निश्चित छ । नेपालमा क्रियाशील पश्चिमी तागत पनि काङ्ग्रेसलाई नै सर्वशक्तिमान हैसियतमा उभ्याउन चाहन्छ भन्ने आमबुझाइ छ । काङ्ग्रेसलाई शक्तिशाली बनाउन माओवादी र समाजवादी पार्टीको भूमिका निर्णायक रहेको र अब पनि रहने देखिएको छ ।