शेखर ढुङ्गेलको नयाँ कृति ‘जात’को लोकार्पण

शेखर ढुङ्गेलको नयाँ कृति ‘जात’को लोकार्पण


विभिन्न विधामा दर्जन बढी पुस्तक कृतिका साथै सयौँ फुटकर लेख-रचनामार्फत नेपाली साहित्य फाँटमा गर्विलो स्थान बनाउनुभएका शेखर ढुङ्गेलको नयाँ कृति ‘जात’ (कथा सङ्ग्रह) प्रकाशित भएको छ । स्रष्टा ढुङ्गेलको कथा-कृति ‘जात’को आइतबार राजधानी काठमाडौंमा एक भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित समारोहबीच कुलपति उप्रेतीका साथै साहित्य, लेखन तथा प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूबाट संयुक्त रूपमा ‘जात’को लोकार्पण गरियो ।

पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले साहित्यकार शेखर ढुङ्गेलको लेखन-सक्रियता एवम् लेखनीको प्रशंसा गर्दै ‘जात’ कृतिले नेपाली साहित्याकाशमा थप योगदान पुऱ्याएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा शुभकामना मन्तव्य दिँदै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले प्रवासमा रहेर पनि स्वदेशको चिन्तामा निर्लिप्त रहँदै आउनुभएका सर्जक ढुङ्गेलले आफ्ना सिर्जनाहरूको माध्यमबाट समाजका यावत विकृतिहरूमाथि दह्रिलो प्रहार गर्दै आउनुभएको बताउनुभयो ।

यस्तै शुभकामना मन्तव्यकै क्रममा प्रा.डा. विद्यानाथ कोइरालाले ढुङ्गेलको पृथक लेखनशैलीको प्रशंसा गर्नुभयो भने ‘जात’का स्रष्टा स्वयंले आफ्नो मन्तव्य राख्दै आफूले देखेका, भोगेका, सुनेका र समाजमा अझै व्याप्त रहेका विभिन्न विकृति-विसङ्गतिलाई आफूले लेखनको विषय बनाउँदै आएको जानकारी दिनुभयो ।

नेपाली साहित्य फाँटका सुपरिचित व्यक्तित्व राधेश्याम लेकालीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन यादव भट्टराईले र उपस्थित अतिथिहरूको स्वागत वरिष्ठ साहित्यकर्मी दामोदर पुडासैनी ‘किशोर’ले गर्नुभएको थियो भने समारोहमा साहित्यकार युवराज नयाँघरेलगायतका अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो ।

‘जात’ कथा-कृतिबारे कार्यक्रममा समीक्षात्मक अभिव्यक्ति दिँदै वरिष्ठ समालोचक प्रमोद प्रधान र वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘जात’मा जातपात वा जातिय विभेदको विषय मात्र नभइ समाजका विभिन्न पाटाहरू समेटिएको बताउनुभयो । अठार वटा कथा समेटिएको कृतिमा ‘जात’ शीर्षकको एक कथालाई सिङ्गो कृतिको शीर्षक तुल्याइए पनि स्रष्टा ढुङ्गेलले हाल आफू रहँदै आउनुभएको मुलुक अमेरिकाको परिवेशमाथि आधारित रहेर कथाहरूको रचना गरेको समीक्षकद्वय प्रधान र बस्नेतले चर्चा गर्नुभयो । विदेशमा रहेर पनि एउटा ठूलै समूहले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान गर्दै आएकोमा शेखर ढुङ्गेल सो समूहको एक अहम् पात्र रहनुभएको समीक्षक प्रधानको भनाइ थियो ।