दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ

दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ


दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । घटनाको कारण भने खुल्न नसकेको बताइएको छ ।

खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतको भनाइ छ । उनका श्रीमानको सात वर्षअघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको बताइएको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।