भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता

भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता


राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । सहभागीले यही असार २० गतेभित्र कविता पठाइसक्नुपर्ने समितिले जनाएको छ । सहभागीले [email protected] मा कविता पठाउन सक्नेछन् । छनोटमा परेका कविले असार २८ गते स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्नेछ ।

कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, दुई शब्दमा नबढाइ युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका-४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ ।