नेता प्रचण्डसँग अभिनेता हमालले गरे भेटवार्ता

नेता प्रचण्डसँग अभिनेता हमालले गरे भेटवार्ता


प्रतिनिधिसभा निर्वाचनको तिथिमिति तथा तयारीबारे बहस शुरु भएको र स्वतन्त्र उम्मेवारी घोषणाको लहर आरम्भ हुनुका साथै महानायक राजेश हमालले समेत स्वतन्त्र उम्मेदवारी दिने भनी चर्चा चलिरहेको परिवेशमा अभिनेता हमालले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डनिवास खुमलटारमा आज भएको भेटमा हमाल र प्रचण्डबीच नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार दुई व्यक्तित्वबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुऱ्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । राजेश हमालले नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोऱ्याएर समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रचण्डले अभिनेता हमालको प्रशंसा गरे ।

हमालले चाहिँ कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष प्रचण्डको पालामा नै भएको भन्दै कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकोमा प्रशन्नता व्यक्त गरेका थिए ।

मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा बिस्तारै राम्रो हुँदै जाने धारणा नेता प्रचण्डसामु अभिनेता राजेशले राखे । भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको थियो ।