नियतिका पात्र राजा ज्ञानेन्द्र !

नियतिका पात्र राजा ज्ञानेन्द्र !


राजा ज्ञानेन्द्र विदेशीसामु झुक्न मानेनन् तर विदेशीका लागि स्वदेशमा खटिएका कथित लोकतन्त्रवादीहरूको धोकाको शिकार भए । तथापि, ज्ञानेन्द्र शाहीको प्रदर्शनमा राजा ज्ञानेन्द्रको हात, लिङ्देनको विजयमा राजा ज्ञानेन्द्रको हात, बालेन साहको उदयमा राजा ज्ञानेन्द्रको हात, जो-जो नालायक असफल बनेर नागरिकबाट लखेटिँदै गएका छन् ती सबमा राजाकै हात ? आखिर शक्तिशाली कि अभागी हुन् राजा ज्ञानेन्द्र ? जसलाई बाचुन्जेल लखेटिनुपर्ने नियतिले छोडेको छैन !
  • शेखर ढुङ्गेल

सृष्टिकर्ता जति आशावादी हुन् ज्ञान/विज्ञानको वर्णन गर्छ त्यतिकै क्रुर पनि छ । अनेकौँ ज्योतिषबाबा गुरु र विद्वान्हरूको आशीर्वाद सल्लाह सुझावको भकारी टाउकोमा बोकेर थकित राजाले ज्ञानेन्द्रले हाँसी-हाँसी राजगद्दी त्यागेको डेढ दशक भयो, तर अझै शक्तिमा छन् । देशमा घट्ने सानो-ठुलो राजनैतिक घटना र बहसहरूमा उनको नाम जोडिन्छ । ठुला नेताहरू जो आफूलाई नेपाल र नेपालीको भाग्यनिर्माता ठान्ने गर्छन् या यो देशको मसिहा नै हौँ भन्ने गर्छन्- उनीहरूको अनैतिकता, अपराध, भ्रष्टाचार, असफलता र नालायकीको चर्चा भयो कि राजा ज्ञानेन्द्रकै नाम जोडिएर आउँछ अनि राजा ज्ञानेन्द्रको शक्ति देख्छन्,, त्रसित हुन्छन् । यति मात्र नभइ राजसंस्थाको उदय हुने आशंका व्यक्त गर्दै ठुलो स्वरले विरोधमा आफ्नो अमुल्य समय र उर्जा खर्च गरिरहेछन् ।

राजा ज्ञानेन्द्र जो हाम्रो परम्परा, रीतिरिवाजमा राजा हुनको लागि जन्मिएकै थिएनन् । कुलको माहिलो सुपुत्र राजा हुने चलन नै थिएन । बुबा र दाजु पनि यथावत थिए, राजा बनाउनुपर्नेको अभाव भएको पनि होइन अनि उमेर पनि पुगेको थिएन । अचानक राणाहरूले राजा बनाएर श्रीपेचको भारी बोकाइदिए । जुन उमेरमा उनको टाउकोमा श्रीपेचको भारी बोकाइदियो । त्यस उमेरमा उनलाई सायद राजा भनेको के हो भन्नेसमेत थाहा थिएन, भोटो लगाउनु र श्रीपेच लगाउनु उनको लागि उस्तै त लाग्ने थियो होला बरु श्रीपेच फ्याकौँ-फ्याकौँ लाग्थ्यो होला, टाउकोमा असहज महसूस हुन्थ्यो होला । पछि त्यो श्रीपेच बुबाहजुरले खोसे, फेरि दाजुहजुरले खोसे, राजा ज्ञानेन्द्र अधिराजकुमार बने म राजा बनेको थिए सायद पछि इतिहासको किताब पढेर थाहा पाए होलान् ।

देशमा माओवादीको हिंसात्मक विद्रोह उत्सर्गमा पुग्दै गर्दा उनै राजा ज्ञानेन्द्रको नाम लिन थालियो ग्रयाण्ड डिजाइन वा दुर्नियतपूर्ण जे थियो । नेपालको इतिहासमै अकल्पनीय घटना तत्कालिन राजा र तत्कालिन भावी राजाको अवसान भयो । त्यसको दोषको भारी पनि उनै राजा ज्ञानेन्द्रलाईको टाउकोमा थोपरियो र, डेढ अक्कली विद्वान्हरू अझै उनलाई गाली/दोष दिन छोड्नुपर्छ भन्ने सोचमा पुगेका छैनन् । परम्परा धार्मिक सांस्कृतिक रीतिरिवाजअनुसार यो देशले फेरि दोस्रो पटक ज्ञानेन्द्रको टाउकोमा श्रीपेच लगाइदियो जुन पहिले बाल्यावस्थाको झैँ अप्रत्यासित थियो । तर यो बेला भने राजा ज्ञानेन्द्र उमेर र अनुभवले प्रौढ भइसकेका थिए । अरु सामान्य नागरिक झैँ देशको चिन्तनमनन गर्ने हुनु स्वाभाविकै थियो । तत्कालिन सात दलको असफलता र नालायकीबाट देश आक्रान्त थियो, जसको प्रतिफल माओवादीको लागि बलियो खुराक भएको थियो ।

राजा वीरेन्द्रकै समयमा मौजुदा विकृति र विसंगतिको न्यूनीकरण वा निषेधको लागि राजा/भावी राजालाई उचाल्ने समुहको कमी थिएन । त्यसमाथि माओवादीको आतङ्क समाप्त गरि देशमा स्थिरता शान्ति र सुशासन कायम को नागरिकको अपेक्षाको जानकारी दरवार लाई नहुने कुरो पनि होइन । त्यसैले राजा ज्ञानेन्द्र म देशको लागि केही गर्छु भनेर पञ्चायतकालिन मानसिकतामा प्रेरित भए जुन खराब होइन तर समयसाक्षेप र अन्तर्राष्ट्रिय समर्थनको बन्न सकेन । भनिन्छ, तत्कालिन विद्रोही माओवादीले (प्रचण्ड) राजा ज्ञानेन्द्रलाई काङ्ग्रेस र एमाले सिध्याउँ दरबार र माओवादी मिलेर सत्ता कब्जा गरी शासन गरौँ भन्ने प्रस्ताव राख्दा लोकतान्त्रिक शक्तिलाई मास्नु बुद्धिमानी हुन्न भनेर अस्विकार गरेका थिए भलै माओवादी विद्रोहको सुरुवाती दिनमा दरबारले माओवादीलाई राष्ट्रवादी ठान्ने भुल गरेको किन नहोस् ।

राष्ट्रिय स्वाभिमान स्वाधीनता जोगाउनु र शान्ति अमनचयन बहाली गर्छु भनेर केही वर्षको सीमासमेत तोकेर सत्ताको बागडोर आफूमा केन्द्रित गर्न पुगे जुन ५०औँ वर्षदेखि लगानी गरिरहेको शक्तिको लागि प्रतिकुल बन्यो । लोकतन्त्र प्रेस स्वतन्त्रताको आवरण त् एउटा ब्यापार र षडयन्त्रको भकारी थियो जुन आज प्रमाणित भइसकेको छ । विश्वमा आज लोकतन्त्र र प्रेस स्वतन्त्रताको धज्जी उडाउने दुरुपयोग गर्नेमा नेपाल पहिलो दर्जाको देश हुन पुगेको छ ।

समय उनको सहयोगी बनेन, सम्झौता धोकामा परिणत भयो, रक्तपात वा देशमा विद्रोह उनले नरुचाएको पाइयो । धर्यतापुर्वक उनले हांसी हांसी जनताको चाहना यहि हो भने सुख र शान्तिको कामना गर्दै कसैलाई दोष नदिएर श्रीपेच सरकारलाई लगाएर नारायणहिटी छोडेर हिँडे र, तीर्थयात्रामा व्यस्त छन् मस्त देखिन्छन् । अहिले पनि राजा ज्ञानेन्द्रको सत्ता आशक्तिको मापन गर्न कसैले सकेको छैन । राजाप्रतिको ‘आशक्ति’ भने केहि खण्डित-विखण्डित समूहहरूमा स्पष्ट देख्न सकिन्छ । राजा ज्ञानेन्द्रले जति राष्ट्र र अन्तर्राष्ट्रिय मानसिकता बुझेका छन् त्यति नागरिक वा ‘राजा आऊ देश बचाउ’ भन्ने अनेकौँ कोणमा विभक्त झुण्डहरूले पक्कै बुझेका छैनन् । राजा ज्ञानेन्द्र विदेशीसामु झुक्न मानेनन् तर विदेशीका लागि स्वदेशमा खटिएका कथित लोकतन्त्रवादीहरूको धोकाको शिकार भए । तथापि, ज्ञानेन्द्र शाहीको प्रदर्शनमा राजा ज्ञानेन्द्रको हात, लिङ्देनको विजयमा राजा ज्ञानेन्द्रको हात, बालेन साहको उदयमा राजा ज्ञानेन्द्रको हात, जो-जो नालायक असफल बनेर नागरिकबाट लखेटिँदै गएका छन् ती सबमा राजाकै हात ? आखिर शक्तिशाली कि अभागी हुन् राजा ज्ञानेन्द्र ? जसलाई बाचुन्जेल लखेटिनुपर्ने नियतिले छोडेको छैन !

आज देश अन्तर्राष्ट्रिय खेल मैदान बनिसकेको छ । हाम्रो विशिष्ट असंलग्न नीति समाप्त भएको छ र परराष्ट्र मन्त्रालय छ कि छैन भनी प्रश्न गर्नुपर्ने अवस्थामा देश पुगेको छ । राष्ट्रिय एकता, स्वतन्त्र सार्वभौम स्वाधीन अस्तित्व र मर्ममाथि कुठाराघात भइरहेको छ । बौद्धिक र मौद्रिक सम्पति पलायन भइसकेको छ । देश असफलताको उन्मुख पुगेको स्वयम् नेता र प्रशासकहरू बताइरहेछन् । नेपाललाई स्थायी रूपमा अस्थिरतातर्फ धकेली आफ्नो अभीष्ट पूरा गर्न अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ, सफल छ ।

लोकतन्त्रमा पञ्चायती समयको अनुशासित नागरिक इमान्दार प्रशासक सम्झने र सुशासनको अपेक्षा राख्ने केही स्वदेशी माटोमै रमाउन चाहने आत्मनिर्भर रहेका बौद्धिक व्यक्तित्व र समूह राष्ट्रिय एकता र स्वतन्त्र अस्तित्व रक्षाको लागि देशको अलौकिक विशिष्ट मौलिक विशेषताहरूको रक्षा गर्नको लागि राष्ट्रको पहिचानको रूपमा आलङ्कारिक राजसंस्थाको आवश्यकता देख्छन् । तर स्वयम् राजा ज्ञानेन्द्र जो अन्तर्राष्ट्रिय शक्ति केन्द्रको कोपभाजन भए सायद त्यही शक्ति अझै मजबुत र प्रभावशाली रहेको महसूस गर्छन् र ‘सत्ता-आशक्ति’लाई थातिमा राखेका छन् वा जनताको जे चाहना छ त्यसैमा आफ्नो अस्तित्व ठान्छन् र, आफ्नो धैर्यता, शालीनता र त्यागको निरन्तरतामा धीर बनेर रमाइरहेछन् । नियतिले भाग्यमानी वा अभागी छुट्याउन अझै नसकेको एउटा राजा ज्ञानेन्द्रको सुस्वास्थ्य र दिर्घायुको हार्दिक कामना !