विद्यालयका लागि छुट्ट्याइएको बजेटले कुखुरा फर्ममा बाटो !

विद्यालयका लागि छुट्ट्याइएको बजेटले कुखुरा फर्ममा बाटो !


‘मन्त्री जम्कटेलले रौतहटका पोखरेलको व्यक्तिगत आवश्यकता पूर्ति गरिदिनकै निम्ति चौध लाख बजेट दिएका थिए त ?’- गजुरी-६ का वासिन्दाले सवाल उठाएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष स्थानीय नागरिक वा सोही स्थानका मतदाता भएन भने स्थानीयवासीको आवश्यकतालाई कसरी दुरुपयोग तथा बेवास्ता गरिन्छ भन्ने उदाहरण भएको छ धादिङको गजुरी गाउँपालिका वडा नं. ६ ।

वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदयिक भवन तथा वडाभरिकै एकमात्र माध्यामिक विद्यालय भानुभक्त मावि जाने बाटोको लागि भनी विनियोजन गरिएको रकम उपभोक्ता समितिका अध्यक्ष सूर्यमोहन पोखरेलले आफ्नो कुखुराको खोरसम्म पुऱ्याएर सकेका छन् ।

६ नम्बर वडाका वडाध्यक्ष कर्ण तमाङका अनुसार बाग्मती प्रदेश आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलको पहलमा १४ लाख रकम विनियोजन गरिएको थियो । वडाध्यक्ष तमाङले फेसबुकमार्फत उक्त बजेटले गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोला-भस्मे-जरे-बगैँचा ग्रामीण सडकमा नाला र रोलिङसहित ग्राबेलको काम हुने जनाएका थिए ।

पोखरेखोला-भस्मे-जरे बाटो निर्माण कार्यका उपभोक्ता समितिका अध्यक्ष सूर्यमोहन पोखरेलले चाहिँ उक्त रकम उनैको ‘सूर्यमोहन पोल्टी फर्म’मै सकिएको भन्दै काम रोकेका छन् । काम सकिएको भन्दै सार्वजनिक सुनुवाइ गर्न खोजेपछि अध्यक्ष पोखरेल स्थानीय वासिन्दाबाट एक्लिएका छन् ।

सूर्यनारायण पोखरेल रौतहटको वासिन्दा र काठमाडौंको मतदाता हुन्, तर उनलाई गजुरी-६ को बाटो निर्माणकार्यको उपभोक्ता समिति अध्यक्ष बनाएकोमा यसअघि पनि विरोध हुँदै आएको थियो । स्थानीयद्वारा स्वशासन, क्षमता विकास र आत्मनिर्णयको अधिकारको सम्मान गर्न माग गरिएको थियो ।

उक्त बाटोको लागि प्रदेश सरकारको रु १४ लाख र सोही पालिकामा अवस्थित ह्वासिङ सिमेन्टको सामाजिक उत्तरदायित्वमार्फतको सहयोग अनुदान रहेको छ ।

पोखरेखोला, भस्मे, तल्लो राम्चे, ठूलोचौर, डाँडाबारी डुम्रेटार, सिम्पानी, सानोचौर, जरे बगैँचाका पाँच सयभन्दा बढी स्थानीयवासी वडाकार्यालय, स्वास्थ्यचौकी, सामुदयिक भवन तथा वडाभरिकै एकमात्र माध्यामिक विद्यालय भानुभक्त मावि जाने बाटो भने योजनाभित्र भएर पनि अलपत्र छोडिएको छ ।

अध्यक्ष पोखरेलले आफूले मन्त्रीसँग व्याक्तिगत अनुरोधमा बजेट पाएकोले आफ्नै तजबिजले काम गरेको भन्दै स्थानीय वासिन्दालाई खुल्ला चुनौती दिएका छन् । ‘मन्त्री जम्कटेलले रौतहटका पोखरेलको व्यक्तिगत आवश्यकता पूर्ति गरिदिनकै निम्ति चौध लाख बजेट दिएका थिए त ?’- यतिबेला गजुरी-६ का वासिन्दाले सवाल उठाएका छन् ।