- photo: rss
भ्रष्टाचार र पारिवारवाद उत्कर्षमा पुग्दा दक्षिण एसियाकै छिमेकी मुलुक श्रीलङ्का आज कुन दुर्दशा भोगिरहेको छ, नेपालका शासकहरूले नियालिरहेकै हुनुपर्छ !

पाँचदलीय गठबन्धन सरकार गठन भएको वर्षदिन पुगेको छ । देउवानेतृत्वको सरकारले गुजारेको एक वर्ष अवधितर्फ फर्केर हेर्दा, अनि यस सरकारको गति र मति नियाल्दा आशा-विश्वास ओइलाएर जान्छ । तमाम नेपालीजनले भोगेको, ब्यहोरेको नियतिले बोल्ने यथार्थ यही नै हो ।
यतिबेला सिङ्गै नेपाली समाज चरम निराशा र छटपटीमा देखिन्छ । मुलुकको शासन-सत्ता हत्याएर राज्यका स्रोतहरूको दोहन गरिसकेका, गरिरहेका र गर्ने तयारीमा रहेकाहरूका निम्ति निराशामिश्रित यथार्थको यस्ता अभिव्यक्ति असान्दर्भिक, कर्कश र मिथ्या नै लाग्न सक्छन्, तर सत्ता-शक्तिमा मदमस्तहरूले अस्वीकार गर्दैमा तथ्य बदलिँदैन । व्यक्तिगत तथा पारिवारिक जीवन घचेट्नकै निम्ति देशभित्र र परदेशमा समेत अनेक हण्डर तथा सङ्घर्षपूर्ण अवस्थासँग जुझिरहेका आमनेपाली असन्तोष र आक्रोशको आगो दन्दनी बालेर संवेदनहीन एवम् भ्रष्ट शासकको अन्त्यको कामना गर्दै जिउन अभिशप्त छ ।
जुन शासनमा शासनाधिकारीहरू आमनागरिकको हितार्थ कुनै चिन्ता नगरी फगत आफू, आफ्ना सन्तान, कमिसनदाता बिचौलिया, करमारा व्यापारी, तरमारा कार्यकर्ता, चम्चे-चाटुकारहरूको वृत्ति-विकासमा चिन्तनशील रहन्छ, जहाँ नेता भनिएकाहरू आफै छद्म रूपले काला-व्यापारीका साझेदार बनेर ‘धन्दा’ चलाइरहेका हुन्छन्, जहाँ आफ्ना जहान-परिवार तथा सन्ततिलाई ओहदा दिलाउनका लागि देश नै बरवाद पारिदिने धम्की दिन नहिच्किचाउने पात्रहरू शासनको शीर्षाधिकारमा आसिन रहन्छन्, जहाँ प्रधानमन्त्रीपत्नी सीमा नाघेर श्रीमानको ओहदा भजाउँदै राज्य दोहनमा उत्रन्छिन् र श्रीमतीको ‘चुरिफुरी’ निरीह बनेर नियाल्न ‘हैसियतवाला’ श्रीमान् विवश बनिरहेको हुन्छ, जहाँ मध्यरातमा बिचौलियालाई मन्त्रालयमा प्रवेश गराइ व्यक्तिविशेषका कम्पनीलाई मालामाल तुल्याउन करको दर नै हेराफेरि गराइन्छ र सोको प्रमाण नष्ट गर्ने निर्लज्जता खुलेआम प्रदर्शन गरिन्छ, जहाँ भ्रष्टाचारमा डुबेको छर्लङ्ग हुँदाहुँदै पनि सफाइको नाटक मञ्चन गरिन्छ, जहाँ भ्रष्टाचार-दूराचारमा डामिएकालाई आँखा चिम्लेर पुरस्कृत गरिन्छ र, जहाँ यी र यस्तै बेथितिमा रम्ने दुर्उद्देश्यले अध्यादेशमार्फत आफूअनुकुल नियम-कानुन फेरबदलको छेडखानी चलिरहन्छ, यस्तो मुलुकका नागरिकका निम्ति खुशी कुन चरीको नाम हो- के पत्तो !?
वर्तमान सरकारको एक वर्ष अवधिबारे निष्पक्ष चर्चा गर्नुपर्दा उल्लिखित पङ्क्ति छुटाउन मिल्ने सन्दर्भ होइन । सत्ताको नजिक रही गलत लाभ लिनेले बाहेक स्वतन्त्र-स्वाभिमानी नेपालीजनले वर्तमान शासन वा शासकहरूको कथनी र करनीलाई यसरी नै चित्रित गर्छ/गरिरहेको छ । किनकि, नियतवश अस्वीकार गर्दैमा यथार्थ त बदलिन्न । सरकारका खराब कार्यको समेत अन्धसमर्थन वा झुठो प्रशंसा गर्दै अनुचित लाभ लिनेहरूको बेग्लै कुरा, अस्वाभाविक गठबन्धनबाट देउवा सरकार बनेपछि मुलुकको अर्थतन्त्र ओह्रालो लाग्ने क्रमले तीव्रता लिएको तथ्यलाई तीबाहेक अरु कसले अस्वीकार गर्छ ? महँगीले आकाश छेडिसक्दा पनि काला-कारोबारीलाई पोस्दै जनतालाई हण्डर र सास्ती दिई मृत्युकै मुखसम्म पुऱ्याउन धक नमान्ने कथित शासकहरूको जगजगी उत्कर्षमै पुगिसकेको कसरी इन्कार गर्न सकिन्छ ? अझ छिचोलेर भन्नुपर्दा, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा अस्वाभाविक तवरले परिवारमोह दर्शाउँदै त्यसलाई मलजल गर्ने, सत्ता-पकड जोगाइराख्न शक्ति-सञ्चयको हतियारका रूपमा दलाल, कमिसनखोरहरूको पोल्टामा मुलुकको प्रमुख कार्यकारी ओहदा नै समर्पित गर्ने दुस्साहस दर्शाएनन् भनी कसरी मान्ने ?
यतिबेला तमाम नेपाली जनता त आफ्ना दैनिक जीवनका यावत समस्याका कारण निराशातर्फ तीव्ररूपले बढिरहेकै छन्, स्वयम् प्रधानमन्त्रीले नेतृत्व गरिरहेका दलभित्र पनि असन्तुष्टि, असहमति र आक्रोश चुलिएर पोखिनै लागेको अवस्था छ । मुलुकमा पछिल्ला समय घटिरहेका अनेक बेथिति र राज्यदोहनमा प्रत्यक्ष/परोक्ष तवरले मडारिएका ‘एजेण्ट’हरूबारे प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्ने आवाज काङ्ग्रेस पार्टीभित्रै मुखर बनेको अवस्था छ । पार्टीप्रमुख र प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाको अक्षमता वा असफलताको योभन्दा ज्यादा उदाहरण अरु के खोज्ने ?
नेपालीजनमा बढेको आन्तरिक ब्यथा-वेदनासँगै बाह्यशक्तिको दुष्प्रभावका कारण मुलुक तहसनहस हुने खतरासमेत बढिरहेको आजको तिक्त यथार्थ हो । वर्षदिन अवधि शासन टिकाउनका लागि विभिन्न राजनीतिक दल तथा राजनीतिजीवीहरूसँग तालमेल मिलाउन र व्यक्तिगत सम्पन्नता वृद्धि गर्नमै खर्चिएको देउवा सरकारबाट आगामी दिनमा आश गर्नुपर्ने सम्भावना समाप्तप्रायः भइसकेको छ । यस्तोमा जनतामा बढ्दो निराशा र आक्रोश थेग्ने/झेल्ने सामर्थ्य नेपाल राज्य तथा विद्यमान शासकहरूसँग कति निहित छ- पर्गेल्नैपर्ने विषय बनेको छ । भ्रष्टाचार र पारिवारवाद उत्कर्षमा पुग्दा दक्षिण एसियाकै छिमेकी मुलुक श्रीलङ्का आज कुन दुर्दशा भोगिरहेको छ, नेपालका शासकहरूले नियालिरहेकै हुनुपर्छ ।
प्रतिक्रिया