खै के खै के !

खै के खै के !


  • जीबी आचार्य

साँच्चि देश खतरामा छ, जाबो सिंहदरबारको के कुरा भो र
पूरै विधि ध्वस्त छ, जाबो सिसिटीभी फूटेजको के कुरा भो र
पूरै न्यायालय भताभुंग छ, सर्वोच्चको प्रस्तावित जाबो भवनको के कुरा भो र
पूरै देश बिरामी छ, सरकारी अस्पतालको के कुरा भो र
पूरै शिक्षा क्षेत्र गन्तब्यविहीन छ, प्रस्तावित शिक्षा ऐनको के कुरा भो र
लुटिएको छ सबै सार्वजनिक क्षेत्र, जाबो ओम्नी, बतास र यतीको के कुरा भो र
नखेलेको भए हुन्थ्यो यस्तो घिनलाग्दो खेल,
नगरेको भए हुन्थ्यो यस्तो विद्रुप नाटक मञ्चन
तिमीले लोकतन्त्र भन्यौ, हामीले पत्याएकै थियौँ ।
तिमीले आफ्ना भाइ-भतिजलाई मात्र योग्य भएको घोषणा गऱ्यौ, हामीले विश्वास गरेकै थियौँ ।
तिमीले समाजवाद उन्मुख शासन व्यवस्था भन्यौ, हामीले ‘अँ’मा टाउको हल्याएकै हौं ।
तिमीले विजयी भाषण गऱ्यौ, हामीले ताली गड्गडाएकै थियौँ
कोही थिएन तिम्रो विरोधी
मिलेर जति खाएको भए पनि हुन्थ्यो,
जति कमाएको भए पनि हुन्थ्यो ।
ज्वाईलाई न्यायाधीश र सालीलाई राजदूत बनाएकै थियौँ
फेरि बनाएकै भए हुन्थ्यो ।
किन यति निर्लज्ज बनेका तिमी ।
हो देश खतरामा छ यति बेला जाबो सिंहदरबारको के कुरा भो र
हामी देश जोगाउँछौँ, तिमी तिम्रो सिँहदरबार जोगाउ
तर हामीले देश जोगाउँदाको बखत तिम्रो सिँह दरबार जोगिने छैन
हामी बनाउने छौं नयाँ सिंह दरबार
जहाँ तिमी र तिमी जस्ताको निर्दोषिता
खोजिने छैन कुनै सिसिटीभी फूटेजमा
लज्जित हुनुपर्ने छैन विधि
पराजित हुनुपर्ने छैन न्याय
प्रताडित हुनुपर्ने छैन योग्यतम नागरिक
हो हामी देश जोगाउँछौँ, तिमी तिम्रो सिँहदरबार जोगाउ !