न्यायमूर्ति

न्यायमूर्ति


  • गंगा खड्का

ऐनाअगाडि उभिएपछि
सर्लक्कै देखिने आफ्नो अनुहार
तिमीले किन देखेनौ ?

उहिल्यै आफ्नो गाउँमा
अल्झिएका सानातिना
उल्झन सुल्झाउँदा सुल्झाउँदै
गाउँका ग्रामपिता भएका थियौ
गाउँको स्वच्छ पदवी लिएर
शहर छिरेका तिमी
गाउँको चौतारोभन्दा पनि
अग्लो आसन पाएपछि
तिर्सनाका पहाडहरू एकाएक जुर्मुराएछन्
र त रहरहरू पूरा गर्न
पहाडजत्रै समस्याहरूलाई
सजिलै तिल बनाउन सक्ने भएछौ !

वचनले रेटिएकाहरू
भावना बेचिएकाहरू
कैंची बनी काटिएकाहरू
मन सिउने सियो नभेटेकाहरू
गाँस, बास, कपासविहीन भएर पनि
बाँच्ने जिजीविषा बोकेका
अनि, कयौँका भरणपोषणदेखि
शोषणसम्मको न्याय दिएछौ
त्यही ठूलो आसनमा बसेर
बत्तीमुनि अँध्यारो भनेझैँ
श्रीमान् !
असन्तुष्टिका कालाबादलले
घेरिएको तिम्रो त्यो महलमा
जान न्यायको दियो बल्छ या बल्दैन ?
कसले भनिदेला ?

सुस्केरा र चित्कारले
लिउन लगाएको महलका भित्ताहरू
प्राय ! सुकसुकाइरहन्छन्
आँसुहरू अग्ला पर्खाल नाघेर
छताछुल्ल पोखिन खोज्छन् ।

आक्कलझुक्कल तिमीभित्रको आँधी-बेहरीले
घर हल्लाएका झ्यालहरूले
पोल नखोलेको कहाँ हो र !
ती विलापले कहिलेकाहीँ
न्यायलयमै भुइँचालो आउँछ कि भन्दै
विक्षिप्त हुने गर्थ्यो रे
हो श्रीमान् ?

खरको शान्ति खोस्नेलाई
घरको सुख कहाँ मिल्छ र !

कहिलेकाहीँ सोध्ने गरेका छौ ?
महलभित्रकी आफ्नी सङ्गिनीलाई
के तिमी खुसी छौ ?
सुखदु:ख बराबर बाँड्छु भन्दै
रङ्गिएको सिउँदोबाट
के ती मौन मूर्ति सन्तुष्ट छिन् ?
अनि, सोध उनलाई
मैले तिमीलाई न्याय दिएको छु ?
केवल अँध्यारोमा तिम्रा आवेग शान्त पार्ने
ती मौन मूर्ति
उज्यालोमा ग्लानिका
एकमुष्ट गुनासोका पोका च्यापी
कति पुनरावेदन धाउन खोजिन् होला
जन्मघरका संस्कार
र, आशीर्वादका भारीले
खानदानका बोकिनसक्नुका
इज्जतका पगरीले थिचिएर
निराशाका डोरीले
कयौँपटक पासो लगाउन खोजिन् होला
जीवनभन्दा मृत्यु नै ठिक भनी रोजिन् होला
खै त उनलाई
न्याय दिएको न्यायमूर्ति ?
जब घरभित्र अन्यायको अन्धकार छ भने
के उज्यालोको आशा गर्नु ?
के न्यायको अपेक्षा गर्नु ।

तिमीले आफ्नै घरको ऐना किन देखेनौ ?
तिमीले आफ्नै घरको अनुहार किन देखेनौ ?