सामूहिक बलात्कारका दोषीहरुलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन

सामूहिक बलात्कारका दोषीहरुलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन


मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ ।

सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा बानोको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो ।

ती पुरुषहरु १५ वर्षको जेल सजायपछि रिहा भएका थिए ।बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै देशब्यापी विरोध प्रदर्शन र नाराबाजी गरिएका छन् ।

भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा समाचार एजेन्सीसँग भनेकी छन्, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले हेर्न सक्दैनौँ ।’

प्रदर्शनमा विद्यार्थीहरुको पनि सहभागिता छ । ‘यो कुरूपता र पितृसत्ता यति बढेको छ र यो बिन्दुमा सामान्य बनाइएको छ कि अब बलात्कार मानिसहरूको लागि सामान्य छ’, विद्यार्थी प्रदर्शनकारी अदितीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

्सयभन्दा बढी सेवानिवृत्त निजामती कर्मचारीहरूले भारतका प्रधानन्यायाधीशलाई पत्र लेखेर बलात्कारीहरूको रिहाईले सबै महिलाहरूको सुरक्षामा नकरात्मक प्रभाव पार्ने जनाएका छन् । भारतले आफ्नो स्वतन्त्रताको ७५औँ वर्षउत्सव मनाउँदै गर्दा गुजरात सरकारले १५ अगस्टमा दोषीहरूलाई रिहा गर्ने निर्णय गरेको थियो ।

एउटा भाइरल भिडियोमा गोधरा जेलबाहिर पुरुषहरू लाइनमा बसेका देखिएका छन् भने आफन्तहरूले उनीहरूलाई मिठाई दिएर सम्मान प्रकट गर्न खुट्टा छोएका छन् ।