रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन


मर्मत सम्भारको कामका लागि भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम-१ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने जनाएको छ ।

रुसले यसअघि नै पाइपलाइनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गरेको छ ।

नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सवर्ग नजिकैको रुसी तटबाट उत्तर-पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ ।

सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।

पाइपलाइन बन्द गरेर रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् ।