आफ्नाले नै छोड्दै गएको बीपी विचार

आफ्नाले नै छोड्दै गएको बीपी विचार


पुस्तौनी काङ्ग्रेसमा आस्था राख्ने हजारौँको रगतले रङ्गिएको माओवादीको हातसँगै अँगालो हाल्न कुनै विचार वा सिद्धान्तले दिने कुरा थिएन । त्यसैले एकथरी मान्छेहरू बीपीको शारीरिक मृत्यु ६ साउन २०३९ मा भएको भए पनि ७ मंसिर २०६२ मा उनको विचारको हत्या भएको दिन भन्दछन् ।
  • स्वयम्भुनाथ कार्की

नेपाली काङ्ग्रेस संगठन बीपीको जीवनभरको कमाइ हो । यही सङ्गठनले बीपी विचारलाई आदर्श त मान्छ तर प्रयोग गर्न नपर्ने आदर्श ! बीपीलाई ‘महामानव’ पदवी दिएपछि काङ्ग्रेसले उन्मुक्ति पायो, किनभने नेताको विचार, सिद्धान्त पो अनुसरणीय हुन्छ, महामानवको त पुजनीय हुन्छ न कि अनुशरणीय । नेपाली काङ्ग्रेसमा एक हातको औंलामा गन्न भ्याउने बीपी विचारका चिन्तक रहेको अवस्थामा पनि उनीहरूले त्यसलाई तालिम दिने सामाग्रीको रूपमा बदल्ने प्रयास गरेका छैनन् । बरु विषेश अतिथि-वक्ता भइरहने सम्पत्तिको रूपमा प्रयोग गर्ने गरेका छन् । यस्तोमा कमल थापाले बीपी विचारको वकालत गर्नुपर्ने अवस्था रहेको छ । स्मरणीय छ, उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका दबङ्ग नेता थिए । त्यही सङ्गठनले बीपी चढेको विमान विराटनगरमा अवतरण हुन दिएको थिएन ।

हरेक वर्ष साउन महिनाको शुरु र भदौ महिनाको अन्त्यतिर बीपीको नाममा केही कर्मकान्डी कार्यक्रमहरू हुने गर्दछन् । उल्लेख गर्न आवश्यक छैन कि हमेसा सत्ताको केन्द्र नभए पनि राजनीतिको केन्द्र भएको नेपाली काङ्ग्रेसले बीपीलाई महामानवको उपाधि दिएको छ । आफ्ना औपचारिक कार्यक्रममा बीपीको तस्बिरमा माल्यार्पण पनि गर्ने गर्दछ । तर यो माल्यार्पण विस्तारै क्रमभङ्ग हुँदैछ । लामो आसनग्रहण, भारतबाट आयातित सयपत्रीको मालाले अतिथिको स्वागतका क्रममा समयाभाव हुने हुन्छ । पार्टी कार्यालयमा भएको दाह्रीवाला तस्बिर कसको हो भनेर कार्यकर्ताहरूले सोध्छन् भनेर कुनै-कुनै पुराना काङ्ग्रेसीहरू पीडापूर्वक सुनाउने पनि गर्दछन् । यसमा अनौठो लाग्ने कुरा केही छैन, किनभने केवल विधि पुऱ्याउन राखिने गरिएका सबै तस्बिर अहिलेको पुस्ताले चिन्छन् नै भन्ने पनि छैन ।

वर्तमानको काङ्ग्रेसमा सिद्धान्तको कारणले काङ्ग्रेस बनेका भन्दा यसको जल्दोबल्दो स्वरुपबाट फाइदा लिन खोज्नेको बाहुल्यता रहेकोमा प्रतिवाद गरिरहनै पर्दैन । ‘मेरा बाजे-बराजु काङ्ग्रेस थिए त्यसैले म पनि काङ्ग्रेस’ भन्नेहरूको प्रधानता छ । बीपीको स्वनिर्वासनताका नेपालका गाउँ घरमा मेहेनत गरेर पार्टी जोगाउनेहरू पार्टीमा भेटिँदैनन् । कपाल फुलेका यस्तालाई कोही-कोही काङ्ग्रेसीले चिन्छन् र ‘जयनेपाल दाइ’ भन्छन् । साथ हुनेले पनि सारैसारमा त्यसै भन्छ अनि पछि सोध्छ- ‘को थियो त्यो मान्छे ?’ अघि अभिवादन गर्नेले भन्छ- ‘पुराना काङ्ग्रेस हुन्, अहिलेको युगअनुसार आफूलाई ढाल्न सकेनन् ।’ वर्तमानको काङ्ग्रेस बीपीको नामले कम परिचित छ, सुवर्णको नाम त हुन सक्छ कतिलाई जानकारी नै नहोला । नेपाली जनतालाई भेँडा भनेको कारणले गणेशमानलाई सम्झन्छन् भने किशुनजी यति छिटै कथाका पात्र बनिसके । अहिले जीवित भएका भए सान्दाइले पनि यसै गर्नुहुन्थ्यो भन्नेहरूले बीपी विचारको हत्या गरिसके ।

कुनै बेला संसारका नेताहरूलाई सोच्न बाध्य गराउने बीपी र उनको नेपाली काङ्ग्रेस न त्यसबेलाको जस्तो इज्जतदार रह्यो न सिद्धान्तनिष्ठ नै । यो जीवित छ त केवल हालका अपहेलित पुराना काङ्ग्रेसीको आस्थाले । तिनैले नेपाली काङ्ग्रेसको सिद्धान्तलाई कुनै जमानामा बोकेका थिए । तर आज उनीहरू केवल देखापरे अभिवादन पाउने तर जिम्मेवारी नपाउने अवस्थामा छन् ।

केवल कुर्सीको निमित्त जस्तोसुकै पनि सम्झौता गर्ने उनका भाइ गिरिजाले बीपी विचार बोकेका थिएनन् । यदि बीपी विचार बोकेका भए नोवेल शान्ति पुरस्कार र पहिलो राष्ट्रपतिको चारोमा पक्कै फस्ने थिएनन् । आफैले आतङ्ककारी घोषणा गरेको माओवादीसँगको गठजोडले पहिलो राष्ट्रपति बन्ने असम्भव सपना देख्ने थिएनन् । माओवादीलाई आतङ्ककारी घोषणा गिरिजा नेतृत्वको नेपाली काङ्ग्रेसको सरकारले गरेको थियो र त्यसविरुद्ध सेना परिचालन पनि । पुस्तौनी काङ्ग्रेसमा आस्था राख्ने हजारौँको रगतले रङ्गिएको माओवादीको हातसँगै अँगालो हाल्न कुनै विचार वा सिद्धान्तले दिने कुरा थिएन । त्यसैले एकथरी मान्छेहरू बीपीको शारीरिक मृत्यु ६ साउन २०३९ मा भएको भए पनि ७ मंसिर २०६२ मा उनको विचारको हत्या भएको दिन भन्दछन् । यही दिन हो जुन दिन भारतीय निर्देशनमा माओवादीसँग १२बुँदे सम्झौता गरेको ।

नेपाली काङ्ग्रेस आफ्नो सैद्धान्तिक धरातल नै ‘बीपी विचार’ भन्ने गर्दछ । तर साउन ६ गते रुख रोप्ने र भदौ २४ मा कार्यक्रम राख्नेबाहेक नेपाली काङ्ग्रेसका नयाँ पिँढीले बीपी चिन्ने कुन माध्यम छ र ? त्यसै पनि यस्ता कार्यक्रममा काङ्ग्रेसीहरूको उपस्थिति एकदमै न्यून हुने गर्दछ । त्यसका व्याख्यानमा पनि बीपी विचार भन्दा उनको इतिहास सम्झने वा जीवनी दोहो¥याउने काम ज्यादा हुन्छ । आत्मवृतान्तका संकलक, सम्पादक, ध्वनी अनुवादक जे भने पनि गणेशराज शर्मा हुन् । उनैले अन्त्यकालमा बीपीका भनाइहरूलाई टेप रेकर्ड गरेर त्यसलाई लिपीबद्ध गरे । उनी त्यही कितापमा भन्छन्, बीपी नेपाली काङ्ग्रेसको इतिहास आपैmले लेख्न चाहन्थे तर भ्याएनन् । शैलजाले लेखुन् भन्ने इच्छा थियो तर त्यो पनि भएन । आत्मवृत्तान्त टेप गर्दा बीपीले शैलजाबाहेक अरुलाई भरोसा गरेनन् । अर्थात् बीपी विचारको आधिकारिकता शैलजाबाट आएको कुरामा ज्यादा हुने थियो ।

कुनै बेला संसारका नेताहरूलाई सोच्न बाध्य गराउने बीपी र उनको नेपाली काङ्ग्रेस न त्यसबेलाको जस्तो इज्जतदार रह्यो न सिद्धान्तनिष्ठ नै । यो जीवित छ त केवल हालका अपहेलित पुराना काङ्ग्रेसीको आस्थाले । तिनैले नेपाली काङ्ग्रेसको सिद्धान्तलाई कुनै जमानामा बोकेका थिए । तर आज उनीहरू केवल देखापरे अभिवादन पाउने तर जिम्मेवारी नपाउने अवस्थामा छन् । जीवन यसैमा बितेपछि जे-जसो भए पनि सहनै परेको छ, भोग्नैपरेको छ । कुनै बेलामा काङ्ग्रेसको भौतिक सफाया गर्ने माओवादीको नेता प्रचण्डकी छोरीलाई मत खसाल्न परेको छ । त्यति मात्र हैन आफन्तको मृत्यु भुलेर उनको जीतमा उत्सव पनि मनाउनैपरेको छ ।