चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल

चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल


चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई पनि निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो । सङ्घको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तर्क्रिया गरिने खड्काले बताएका छन् । नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पङ्क्तिमा परेको छ, नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने उनको मुख्य प्राथमिकता रहेको छ ।

दर्शकहरुले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसकेकाले नेपाली चलचित्रमा दर्शकको सङ्ख्या कम भएको नवलको भनाइ थियो ।

सङ्घको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पुऱ्याएको उनले बताए । निर्माता र प्रदर्शकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्नुपर्ने उनको धारणा छ ।

सङ्घको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चुनिएका छन् ।