गौरा पर्वको दोस्रो दिन : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

गौरा पर्वको दोस्रो दिन : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिमको मौलिक पर्व गौराको आज दोस्रो दिन । गंगा गौराको रुपमा पूजा गर्दै पर्व मनाइँदैछ । गौरापर्वको दोस्रो दिन व्रतालु महिलाहरुले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँदै छन् । बिरुडा धोएकै ठाउँमा गौरा (पार्वती) को प्रतिमा बनाएर पुजा गरिन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ५ प्रकारका अन्न भिजाएर गौरा पर्वकोे शुभारम्भ गरेका थिए ।

भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ । यो दिन नारीहरु ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (केराउ, गहत, गुरास, गहूँ र मास) मिसाएर बनाइएको पञ्चअन्न भिजाउछन् । यि पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका न्वाला,धारा, कुवा तथा पानी पधेरोमा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर नजिकको न्वाला, धारा, कुवा तथा पानी पधेरोमा गएर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

हिमालयराज पुत्रि पार्वतीको नाम गौरी पनि हो, पौराणिककालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार ब्रत उपाशना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरि उपासन गर्ने पर्वको रुपमा सुदूरपश्चिममा मनाइने साँस्कृतिक परम्पराको आज दोश्रो दिन नजिकैको जलासयमा बिरुडा भिजाउँदै गंगा गौरा पूजन गरिएको हो ।

ग्रामीण क्षेत्रमा गाउँका महिलाहरु सामूहिक रुपमा प्राचिन धारा नाउला तथा जलाशयमा गएर धान, बल साउँ पहेंलो गुबो र तिलको बिरुवालाई एकिकृत गरि माता पार्वतिको प्रतिक बनाई शुद्ध पहिरन, ब्रत बसि निष्ठाका साथ पूजा गरिन्छ भने पञ्चमीको दिन बिधिवत राखिएको गहत गुराउँस, सानो केराउ, कलाउँ र चना मिश्रण गरिने पञ्च दलहन गेडागुडीको बिरुडालाई धोइपखाली शुभ सगुन फाग गाउँदै गौरा प्रसादलाई घर ल्याउने प्रचलन रही आएकोे पण्डित रामचन्द्र भट्ट बताउछन् । गंगागौराका दिन सुर्य र बत्तीलाई अर्घ दिँदै गणेश कलशको पूजा गरि गौरा प्रतिमालाई महिलाहरुले भक्तिभावका साथ पूजेर दुर्वाष्टमीका दिन गौरा पर्वको मुख्य पूजाको आव्हान गरि मुक्ताभरण सप्तमीका दिन मूल गौरा भित्र्याउने चलन रहेको उनले बताए ।

विशेषगरि महिलाहरुका लागि अति महत्वपूर्ण पर्व गौरामा अटल सौभाग्य, सुखशान्ति र एकता तथा सदभाव कायमका लागि नारी मात्र नभई पुरुषले पनि चैत्र, धुमारी र डेउडा खेलेर भव्य रुपमा मनाउने गरेका छन । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ भने गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन रही आएको छ ।