पहिचानकै आधारमा प्रदेश १ को नामाकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

पहिचानकै आधारमा प्रदेश १ को नामाकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ


स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन् ।

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले पहिचानकै आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने बताएका हुन् ।

प्रदेश १ लाई पहिचानको आधारमा नामाकरण नगर्दा इतिहाको अपमान हुने र त्यहाँको जनभावनाविपरीत हुने भएकाले पहिचानकै आधारमा नामाकरण गर्नुपर्ने मन्त्री खापुङको तर्क रहेको छ ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले भने- ‘प्रदेश १ को नामाकरण गर्दा पहिचानलाई प्रमुख आधार बनाइनुपर्छ । पहिचानको आधारमा नामाकरण गरिएन भने त्यहाँको इतिहास अपमान हुन्छ, जनताको भावनाविपरीत हुन्छ । त्यसैले पहिचानकै आधारमा नामाकरण हुनुपर्छ ।’

वर्तमान प्रदेशसभाबाट प्रदेशको नामारण अब सम्भव नरहेको भन्दै मन्त्री खापुङले मंसिरमा हुने निर्वाचनमार्फत आउने नयाँ जनतमले नामाकरण गर्ने बताए ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री खापुङले आगामी निर्वाचनमा पहिचान पक्षधरलाई जिताएर पहिचानकै आधारमा नामाकरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।