रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द

रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द


रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन शनिबार पनि खुला नहुने भएको रुसी उर्जा कम्पनी ग्याजप्रोमले जनाएको छ । ग्यास प्रवाह हुने नर्ड स्ट्रिम १ पाइप लाइनबाट ग्यास चुहेकाले अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । केही दिनदेखि बन्द उक्त पाइपलाइन शनिबार पुनः खुला हुने बताइएको थियो ।

पाइप लाइनमा मर्मत सम्भार गर्न आवश्यक भन्दै कम्पनीले तीन दिनदेखि ग्यास आपूर्ति रोकेको थियो । यो जाडो मौसममा युरोपेली युनियनका मानिसहरुले ताप लिन ठूलो मूल्य चुकाउनुपर्ने त्रासबीच उक्त पाइप लाइन अनिश्चतकालीन समयका लागि बन्द भएको विवरण सार्वजनिक भएको छ । रुसले २४ फेब्रवरीदेखि युक्रेनमा हमला गरेपछि ग्यासको मूल्यमा अस्वभाविक वृद्धि भएको छ ।

मस्कोले युद्धका लागि गर्दै आएको खर्च घटाउने प्रयत्नमा युरोपले रुसी उर्जा कम प्रयोग गर्ने प्रयास गरे सफल हुन सकेको छैन । रुसी कदम अनौठो नभएको ईयू परिषदका अध्यक्ष चार्ल्स मिसेलले बताएका छन् । ‘युक्रेनका नागरिकहरुको रक्षा र युक्रेनको स्वतन्त्रता नै हाम्रो कर्तव्य हो’, उनले भने ।