सरकारलाई कारबाही !

सरकारलाई कारबाही !


  • लामिछाने मातृका

सरकारलाई कारबाही कसले गर्ने ?
जनतालाई सरकार कारबाही गर्छ
तर सरकारलाई कसले गर्छ ?
सेनाले गऱ्यो कु भन्छन्
पुलिसले गऱ्यो उ भन्छन्
र भोलीपल्टै बर्खास्त गर्छन्
राष्ट्रपतिले गऱ्यो प्रतिगमन भन्छन्
उल्टै महाभियोग लाउँछन्
अख्तियार त उस्तै परे
लुखुरलुखुर बालुवाटार धाउँछ
नधाएदेखि अभियोग लाउँछन्
अदालतलाई समेत
न यता न उता बनाउँछन्
अनि कसले सरकारलाई
कारबाहीको दायरामा ल्याउँछन् ?
ए… त्यसो भए जनताले गर्छन्
जनता कहाँ छन् र ?
तिनलाई त कार्यकर्ता भन्छन्
अनि सरकारले तिनलाई गन्छन्
यस्तो भएसी कसले के गर्ने
अब भन्नुस् सरकारलाई कारबाही कसले गर्ने ?

जनताको करमा ढलीमली गर्छ
करोडको प्राडो पजेरो किन्छ
जनताको नाममा आ’को
राहत पनि आफैं छिन्छ
अनि लोकतन्त्रको दुहाइ दिन्छ
आफूलाई सर्वेसर्वा ठान्छ
अरुले सलामी खाए शासक भन्छ
पिर्कामाथि कुखुरे छाती फुलाएर
फेरि आफैं सलामी खान्छ
ऊ भूपू वरिष्ठेहरूलाई
घुस र भुसको
गन्धे-बायु चल्दा पनि
विदेश पठाउने गर्छ
यता जनता सिटामोल नपाएर मर्छ
अनि भन्नुस् यस्तालाई
कसले डण्डा लाउँछ
सरकारलाई कसले
कारबाहीको दायरामा ल्याउँछ !

कर नतिरे कारबाही
कर ढिला तिरे कारबाही
कर छलि गरे कारबाही
कानुन र नुनमा कारबाही
सुनमा कारबाही
लसुन प्याज र आलुमा कारबाही
सुपारीमा कारबाही ।
तर उ स्वतन्त्र छ
फुक्काफाल छ
मनपरी गर्छ
जो मन लग्यो सो गर्छ
गर्नु पर्ने केही गर्दैन
गर्नै नहुने काम नछोडी गर्छ
नगर भने नि गर्छ
नबिर्सी गर्छ
घुस खान्छ भ्रष्टाचार गर्छ
काण्डैकाण्ड घटाउँछ
स्वीट्जरल्याण्डको सपनामा सयर गराउँछ

श्रीलंका र फिजीको थाङ्नामा पुऱ्याउँछ
त्यै पनि निर्दोष जनता चेत खाँदैन
र उसकै भक्तिगानमा मस्त रमाउँछ
अपराधी र दोषीलाई उन्मुक्ति दिन्छ
चोरलाई फूली र साधुलाई सुली दिन्छ
कमिसनले पोल्टो भर्छ
अब भन्नुस् त यस्तो सरकारलाई
कार्बाही कसले गर्छ ?

बिरामीको ओखतिमा
गरिवको झोपडीमा
हिनामिना गर्छ
त्रिपालमा, कर्कटपातामा
अनुदान आएको खातामा
सातु चामल चिउरामा
मास्क, स्यानिटाइजर र थर्मल गनमा
म्यादीको बर्दीमा
पुलिसको भर्तीमा
लडाकु सिपाहीको भत्तामा
हतियार अनि बख्तरबन्दमा
कमिसन र घोटाला
कति हो कति गर्छ
अनि खै त यिनलाई कानुन
सरकारलाई चाहिँ कारबाही कसले गर्छ ?
उस्तै परे कानुन नै संशोधन गर्छ ।

उस्तै परे कानुन नै संशोधन गर्छ ।
कर्णालीको जनता भाकभोकै मर्छ
आङ छोप्ने एकसरो नलाइ जीवन टर्छ
ऊ आफै अत्याचार गर्छ
अन्याय गर्छ
बेच्न बाँकी केही छैन सरकारले
ऊहिलेदेखि अहिलेसम्म
बचाएको केही छैन
बेचेर सबथोक खाइसक्यो
आएको देख्ने खाएको नदेख्ने
पुलिसले नि उसैलाई सलाम ठोक्ने
आखिर कसले रोक्ने कसले छेक्ने
जसले छेक्यो उसैलाई जेलमा कोच्ने
कोही छ यहाँ..
देश र जनताको बारेमा सोच्ने ?
विपक्षी हुन्जेल सड़कमा नारा लाउँछन्
तोड़फोड सड़कजाम
बन्द हड़ताल चक्कजाम गर्छन्
सदनमा नाराबाजी अनेकथोक गर्छन्
सत्तामा पुगेसी फेरि ऊ पनि उस्तै
जुन नेता आएनि कान मात्रै चिर्ने ।

नदीनाला बेच्ने
देश आस्था अस्मिता
स्वाभिमान सार्वभौमिकता
अखण्डता, सहिष्णुता
प्रेम स्नेह सदाचार सब बेच्यो
छिमेकीसँग कहिले नगिच
त कहिले टाढा गऱ्यो
अब बेच्न केही छ र बेच्न
जल जमिन जंगल
जडिबुटी र जवानी सवथोक बेच्यो
नागरिकता भन्दै के के बेच्ने हो ?
अब आफैंलाई बेच्न बाँकी छ सरकारले
जसरी लेण्डुपले आफुलाई बेचेथ्योे
अब कसरी हो कसले हो बचाउने
सबै तैँ चुप मै चुप
एउटै योजनाका
बहुरंगी साक्षी-किनारी छन् सबै
बचाउन कसले सक्ला कसरी सक्ला
भविष्य अनिश्चयको गर्भमा छ ।
न सरकारको आशा छ
न सरोकारवालाको भरोसा छ
मात्रै अन्यौल र आशंकाको त्रास छ
कि त यसै मडारिएको बादल जान्छ कि
अहं झन झन विकराल छ स्थिति
यो बनाउने कोही नभएर सरकार नै हो
चाहे बामपन्थी होस्
चाहे नामपन्थी
चाहे गठबन्धन ठगबन्धन
चाहे एकिकृत चाहे अनधिकृत
या त कम्फर्टेबल होस् कि त
कम्ब्याटेबल होस्
चाहे सरकार, नेपालको होस् या
नेपालका लागि अरुको सरकार होस््
सवै उहि ड्याङका मूला न हुन्
एकै मूलकापानी खाएका
कसो गरुं के गरुँ
उकुस मुकुस भा’छ
न्यायको आश मरेको छ
शान्तिको दीप निभेको छ
गोलीका छर्राहरु भित्रभित्रै
खिल पल्टेको छ
द्वन्द्वपीडितको नाम बेचेर
दाम हसुर्न सरकार पल्केको छ
यस्तो हुँदा समेत रमिते छ यो जिन्दगी
येनकेन प्रकारेण जीवन त टर्छ
तर
अब त भन्नुस्
सरकारलाई कारबाही कसले गर्छ ?