बेलायती महारानीको निधनमा भारतले एकदिने राष्ट्रिय शोक मनाउने

बेलायती महारानीको निधनमा भारतले एकदिने राष्ट्रिय शोक मनाउने


बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् ।

‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री र विदेशमन्त्रीले भने बेलायती महारानीको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए ।

प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन् । उनको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि प्रधानमन्त्री मोदीले गरेका छन् । । ‘उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिनँ’, प्रधानमन्त्री मोदीले लेखेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रुपमा ७० वर्षभन्दा बढी समय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनसँगै उनका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् ।