बीपीको नीति र सिद्धान्त : चक्रब्युहबाट काङ्ग्रेस निस्कने एकमात्र सुत्र

बीपीको नीति र सिद्धान्त : चक्रब्युहबाट काङ्ग्रेस निस्कने एकमात्र सुत्र


  • रमेश बस्ताकोटी

नेपालमा मात्र नभइ समाजवादीहरूका बीचमा विश्वमा नै उच्च छवि बनाएका महान राजनितिज्ञ हुन् बीपी कोइराला । नेपाली काङ्ग्रेस पार्टीका सस्थापक नेता कोइराला जीवनभर प्रजातन्त्रका लागि लडिरहे । उनै बीपीको राजनैतिक जीवन र प्रेरणादायी कुराहरूलाई समेटेर यो आलेख तयार पार्ने प्रयास गरिएको छ । हामी सानो हुँदा बीपीबारे प्रशस्त किस्साहरू सुनिन्थ्यो । बीपी यस्ता थिए उस्ता थिए भनेर स्कुलमा सरहरूले सुनाउनुहुन्थ्यो । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको थियो । त्यसकारणले पनि बीपीसंगसंगै हिँडेका, नजिकबाट चिनेका र बीपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरूले हामीलाई पढाउँदा बीपी र उनका बिचारहरूबारे भनिररहनुहुन्थ्यो । त्यसकारण बीपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लँदै गर्दा बीपीबारे पढ्न पाइयो । उनका राजनैतिक जीवन, उनका सिद्धान्त र विचारहरूबारे अध्ययन गर्न थालियो ।

सानैमा पढेँ मोहन समशेर र बीपीबीच भएका संवादका कुरा जहाँ मोहनसमशेरले बीपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन्- ‘बीपी अब तपाईं प्रधानमन्त्री हुनुभयो, तपाईंको उद्देश्य के छ ?’ बीपीले सरल उत्तर दिएका थिए अरे, ‘म एउटा मध्यमवर्गीय परिवारको मान्छे हुँ, बिहानबेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा हुन्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पुऱ्याउने हो ।’

बीपीको यस्तो विचार सानैमा पढेको थिएँ मैले, जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौँ कुराहरू बीपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो, बीपीका बारेमा अग्रजहरूबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बालमस्तिष्कबाट नै बीपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बीपीको त्यो विचार, आदर्श र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

हामीले आत्मकथामा पनि बीपीलाई पढ्यौँ, सुन्दरीजलमा बीपीलाई पढ्यौँ, अन्तर्वार्ताहरू पढ्यौँ, लेखहरू पढ्यौँ, विचार गोष्ठीहरूमा सहभागी भएर बीपीलाई सुन्यौँ । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होइन । बीपीलाई पढेर, बुझेर, आदर्श, सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण बीपी विचार हो जसले मलाई उनलाई पछ्याउने बनायो ।

तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि गरेको हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झ्याङ्गिँदो उपस्थितिको विश्लेषण गर्दै बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे र, ०३३ सालमा नेपाल फर्किने तयारी थाले । बीपीको त्यो निर्णय भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजायँ बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्व कांग्रेसनेता बद्रीनारायण बस्नेतले लेखेका थिए, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बीपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बीपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

बीपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बीपीकहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका बीपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बीपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, बीपीले इन्दिरालाई महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

तत्कालिन भारतकी शक्तीशाली प्रधानमन्त्री इन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बीपी, उनीसँग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे । त्यो थियो बीपीको राजनैतिक उचाई, यसले आजका दिनमा पनि म तिनै बीपीका आदर्श मुल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

इन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बीपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा त्यहाँका जीवित कतिपय अग्रजहरू अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु ।’ नभन्दै बीपी मेलमिलापको निति लिएर नेपाल फर्किए र लगत्तै जेल पनि परे ।

बीपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरूले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

तर, बीपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरूको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरूलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौँ, हाम्रो भू–भागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरूलाई सोधेका थिए । नेहरूले जवाफ दिए, ‘बीपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बीपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

यसरी राष्ट्रियताको सवालमा बीपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैनथे र तत्काल प्रतिक्रिया जनाइहाल्थे, तत्कालिन भारतिय र चीनका शासकहरू बीपीसँग यसकारण डराउँथे की बीपीले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रिय स्तरमा एक ख्यातप्रिाप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए ।

नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार, नीति र सिद्धान्तहरू छाडेर जानुभएको छ । जुन अहिले पनि उतिकै सान्दर्भिक छ । विडम्बना ! आज सबैका प्रिय सान्दाजुको जन्मजयन्तीमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली काङ्ग्रेसले त सान्दाजुका कुरा लागु गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस बीपीलाई बेच्छ मात्र, तर बीपीका आदर्श, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागु गर्दैन । यसले बीपीका अनुयायीहरूलाई ठुलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बीपी सम्झियो न त बीपीका विचार सिद्धान्त र आदर्शहरू नै सम्झियो, जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमशः घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ । बीपीका आफ्नै भाइभतिजा यो देशका प्रधानमन्त्री पटक पटक भए, उनकै शिष्य शेरबहादुर पटक-पटक प्रधानमन्त्री भए, अहिले काङ्ग्रेस को सभापति र प्रधानमन्त्री छन् । बीपीकै कान्छो छोरा डा. शशांक कोइराला कांग्रेसका पुर्व महामन्त्री र प्रभावशाली नेता हुन् । तर पनि काङ्ग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता संचालनमा बीपी विचार र नीति लागु गर्न सकेन । यसले बीपीको अनुयायीहरूलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुशी भएको छैन होला ।

वर्षको एक-दुई दिन बीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको पाँच मिनेटमा नै सबै कुरा भुल्ने काङ्ग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मुल जड हो । अब पनि काङ्ग्रेसले बोलीमा मात्र होइन व्यवहारमा नै बीपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कङ्ग्रेस फेरि पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन ।

यही सन्दर्भमा स्वयम् बीपीले भनेको एउटा भनाइ स्मरण हुन्छ, एकदिन एक कार्यकर्ताले बीपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ? बीपीले भनेछन्- प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिलामुकिलाहरू हाबी हुन्छन्, तिनले आदर्श बिर्सन्छन्, त्यस्ताहरूका विरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरूले संघर्ष गर्नुपर्दछ ।

बीपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो । बीपीका आदर्श र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिलाहरू हावी भए, इमान्दार कार्यकर्ताहरूले अझै तिनिहरूका विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो, तसर्थ बीपीलाई अब काङ्ग्रेसले व्यवहारमा नै अवलम्बन गर्न आवश्यक छ । आफू पनि केहि नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले बीपीले अघिसारेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा काङ्ग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बीपीकै आदर्श नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमा नै अवलम्बन गर्न एक पटक सबै इमान्दार काङ्ग्रेसीहरूले नेतृत्वलाई दबाब दिन आबश्यक छ ।