सुदूरपश्चिममा बूढी पोल्ने (बन्ढुनी) पर्व मनाइँदै

सुदूरपश्चिममा बूढी पोल्ने (बन्ढुनी) पर्व मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाइन्छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षसी पुतनालाई भगवान श्रीकृष्णले बध गरेको सम्झनामा यो पर्व मनाइन्छ ।

भाद्र संक्रान्तिका दिनमा गाउँका स्थानीयहरूले नजिकै रहेको बनबाट विभिन्न किसमका स-साना काँडेकाठ (झिकडा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) बनाउँछन् । सोही थुप्रो अर्थात वुढी लाई आज पोलेर वन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रुपमा मनाइन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठाला तथा स्थानीयहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लगायतको लिङगो ठड्याइ रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीको प्रतिरुपलाई जलाउने चलन रही आएको छ ।

द्वापरयुगमा राक्षसी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न खोजेकी थिइन् । भगवान श्रीकृष्णले सो थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी बध गरेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको स्थानीय पण्डित रामचन्द्र भट्टले बताए ।

बन्ढुनी पर्व सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । यो पर्व सामाजिक र मौलिक पर्व हो । यस पर्वमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खर्सेतोका पात र चिमालीका सेता राता र पहेँला फूल जोडेर अति आकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर (दियालो वा झरो) को मसाल (राँको) बनाएर सजाइन्छ ।

गाईबस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् । र बेलुकीपख जलाउने चलन रहेको छ । पुतनाको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।