सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?

सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईंसँग यसबारे टेलिफोनमा छलफल गरेको छु ।’ उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको पनि बताए ।

जवाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उद्देश्य ‘युद्ध मैदानमा’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्वबारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए ।