लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ


  • विशाल बस्नेत, महोत्तरी

प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी छन् ।

सोमबार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरीडाँडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरीडाँडाले जनाएको छ ।

मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोलाभित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट-१० लेखिएको २५ पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ पुरियासहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरीडाँडाका प्रमुख रवि रावलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।