उग्रतारा मन्दिर पुरातन शैलीमा निर्माण हुने

उग्रतारा मन्दिर पुरातन शैलीमा निर्माण हुने


  • डम्बर निदाल, डडेल्धुरा

सुदुरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मूल मन्दिरलाई प्राचिन र मौलिक शैलीमा निर्माण गरिने भएको छ ।

उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराले आयोजना गरेको सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी, सरोकारवाला वडाका वडाध्यक्ष, पुरातत्व विधाग काठमाण्डौंका अधिकृत एवं उग्रतारा मन्दिर पुनर्नर्माण परियोजना प्रमुख हरिप्रसाद भुषालसहित उग्रतारा मन्दिर सम्बन्धित विभिन्न धामी, पण्डा, कारवारिया, देउरा प्रतिनिधिलगायत सरोकारवाला स्थानीय र सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा उग्रतारा मन्दिरको पुनर्निर्माण संरचनाका लागि विनियोजित रकम कार्यान्वयनका लागि सहमति दिँदै आवश्यक संरचना परिमार्जन गर्ने निर्णय गरिएको उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।

सुदूरपश्चिमकै प्रसिद्ध र विश्व सम्पदा सूचिमा सूचिकृत उग्रतारा मन्दिरको निर्माण संरचना सिमेन्टेडजन्य सामग्रीबाट निर्माण भएको भन्दै सूचिबाट हटाइएपछि पुरातत्व विभागले सिमेन्टेडजन्य सबै सामग्री हटाइ दिगो काठ तथा बलियो ढुंगा प्रयोग गरि पुरानै स्वरुपमा मन्दिरलाई आकर्षक रुपले निर्माण गरिने गरि चालु आर्थिक वर्षमै काम सम्पन्न गर्न विभागले काम अगाडि बढाएको अधिकृत भुषालले बताए ।

बैठकले गहन छलफल गरी मन्दिरको साँस्कृतिक चलन रीतिरिवाज, पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्था र भावनालाई यथोचित रूपमा सम्बोधन गर्दै आकृति प्रकृतिलाई यथावत राखी स्थानीय श्रोतसाधनलाई प्राथमिकता दिएर मन्दिरको बाहिरी भागको सबै संरचना परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

निर्माण क्रममा निर्माणकर्ता पुरातत्व विभाग र निर्माण व्यवसायीलाई मन्दिरको आवश्यकता र परम्परानुसार संरचना निर्माण गर्न सहजीकरण तथा सहयोग र कार्यान्वयनका अबधिमा नापनक्सा, लागत इष्टिमेटबमोजिम काम भए-नभएको जस्ता निर्माण कार्यका विविध पक्षमा अनुगमन तथा नियमन गर्न स्थानीय पुष्पराज भट्टको संयोजकत्वमा १५ सदश्यीय अनुगमन समिति पनि गठन गरिएको अध्यक्ष साँकीले बताए ।

छलफलमा उग्रतारा मन्दिर स्थानीय वासिन्दाको मात्र सरोकारको विषय नभई राष्ट्रिय एवं धार्मिक सम्पदा भएको र लाखौं भक्तजन दर्शनार्थीको आस्थाको केन्द्र भएको मन्दिर निर्माण कार्यलाई क्रमागत रुपमा काम अगाडी बढाएर पुरातात्विक मापदण्डमा निर्माण गरि विश्व सम्पदा सूचिमा सूचिकृतका लागि आवश्यक पहल गर्नुपर्ने बैठकमा उपस्थित सहभागिले सुझाव पनि दिएका छन् ।

समितिको निर्णयपश्चात मन्दिरको निर्माण संरचनाको विनियोजित रकम रु. एक करोड बासठ्ठी लाखअन्तर्गत नापनक्सा लागत इष्टिमेट तयार गरि आर्थिक वर्ष २०७९/८० मै सम्पन्न गर्न यथासिघ्र टेण्डर प्रकृया थालनी गरिने विभागका प्रतिनिधि तथा परियोजना प्रमुख हरिप्रसाद भुषालले जनाएका छन् ।