यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन

यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन


यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

बेलारुसी मानव अधिकारकर्मी एलीयास बिलियाट्स्की, युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीज र रुसी मानव अधिकार संगठन मेमोरियललाई उक्त पुरस्कार दिइने भएको हो ।

शुक्रबार नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । आगामी १० डिसेम्बरमा एक कार्यक्रमबीच उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

बिलियाट्स्कीले बेलारुसमा प्रजातन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ।

त्यस्तै, अर्को पुरस्कृत संस्था सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानवअधिकार संगठनमध्ये एक हो । यसको स्थपना सन् २००७ मा भएको हो । पुरस्कृत भएपछि आफूले गौरब महसुस गरेको सीजीएसले एक ट्वीटमा जनाएको छ ।

त्यस्तै, रुसकै सबैभन्दा पुरानो मानव अधिकार समूह मेमोरियलले पनि पुरस्कार पाउने भएको छ । मेमोरियलले करिब ३ दशकसम्म सोभियत कालमा मारिएका, कारागारमा राखिएका वा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याएको थियो । मेमोरियल यसै वर्षको सुरुमा बन्द भएको थियो। गत वर्ष अदालतको एक आदेशपछि मेमोरियल बन्द भएको थियो ।