भैरहवामा शान्तिको पर्व ‘बाह्र रबिउल औव्वल’

भैरहवामा शान्तिको पर्व ‘बाह्र रबिउल औव्वल’


  • मोहम्मद हबिब, भैरहवा

इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७औं जन्मोत्सव रुपन्देहीको भैरहवामा मनाइएको छ।

इस्लामिक क्यालेन्डर रबिउल औव्वल महिनाको १२ तारिख आजकै दिन हजरत मोहम्मदको जन्म भएको थियो । बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का सहरमा भएको दिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउल औवल)को रूपमा मनाउने गर्छन् । इस्लामी पात्रो हिजरी संवतको सुरुवातभन्दा पहिला नै उनको जन्म भएको इतिहास छ । जसअनुसार अहिले १४९७औं जन्मोत्सवको रूपमा विश्वभरसहित नेपालमा पनि जन्मदिन मनाइएको छ ।

भैरहवामा ५३ वर्षदेखि मनाइँदै आएको मोहम्मद जयन्तीलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। मुस्लिम समुदायले महत्वपूर्ण दिनको रूपमा रहेको आजको दिनलाई भैरहवावासीले पाँच दशकदेखि अनवरत रूपमा मनाउँदै आएका छन् । मदरसा अहले सुन्नत कठौतियाले जन्मदिनमा र्‍यालीको निरन्तर अगुवाइ गर्दै आएको ज्योतिपूञ्ज रिजविया धार्मिक शैक्षिक संस्थाका प्रिन्सिपल सुफी मोहम्मद सिद्दीक बताउँछन् । जन्मोत्सवको अवसरमा रुपन्देहीको भैरहवामा र्‍याली, जीवनी वाचन, उपदेश र वाणीहरूको स्मरण गर्दैे मनाइएको छ ।

जन्मोत्सव अवसरमा पक्लिहवा, खजहना, खजुरिया, चैनपुर, बसन्तपुर, बेनिपुर, धकधईलगायतका मुस्लिम समुदायले धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा मस्जिद ,मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरूले धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गर्ने गरिन्छ । मोहम्मदको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मद जयन्तीको अवसरमा कतिपय स्थानीय तहले बिदा दिए पनि नेपाल सरकारले बिदा कटौती गरेको छ ।