युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग भएको जेलेन्स्कीको आरोप

युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग भएको जेलेन्स्कीको आरोप


क्रिमिया पुलमा विस्फोट गराएको विरोधमा युक्रेनी शहरमा हमला गरिएको पुटिनको प्रष्टोक्ति

रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

राजधानी किभ र दक्षिण पश्चिमका शहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनको दाबी छ ।

केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

‘ुहामी आतंककारीहरूसँग लडिरहेका छौँ । दर्जनौँ मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका विभिन्न शहरहरूमा भएका वृहत हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको प्रष्टोक्ति दिएका छन् । रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले विस्फोट गराएको पुटिनको आरोप छ । उक्त ‘आतंककारी आक्रमण’विरुद्ध युक्रेनमा थप हमला गर्ने पनि उनले चेतावनी दिएका छन् ।

रुसले विलय गराएको क्रिमिया जोड्ने उक्त पुल दक्षिण युक्रेनमा हतियार आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिएको छ ।

ज्ञातव्य छ, रुसले सोमबार युक्रेनको राजधानी किभसहित मुख्य शहरमा भिषण हमला गरेको थियो । शहरका विभिन्न स्थानमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा केहीको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको जनाइएको छ । केही महिनाको अन्तरपछि रुसी सेनाले राजधानी किभमा हमला गरेको हो । यसैबीच बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले आफ्ना सेनाहरूलाई युक्रेननजिकै रुसी सेनासँग तैनाथ गर्न आदेश दिएका छन् ।