एकीकृत शक्ति नेपालका युवा नेता पोखरेल निर्वाचनको मैदानमा

एकीकृत शक्ति नेपालका युवा नेता पोखरेल निर्वाचनको मैदानमा


दुई दशकदेखि कला-रङ्गमञ्च एवम् चलचित्र पत्रकारितामा संलग्न रही विभिन्न चलचित्रको निर्देशन कार्यमा समेत लागिपरेका युवा वसन्त पोखरेलको नयाँ चिनारी बनेको छ- ‘एकीकृत शक्ति नेपाल’को केन्द्रिय सदस्य । २०५८ सालमा कला क्षेत्रमा प्रवेश गरी ०६२ सालबाट नेपाल टेलिभिजनको जीवनचक्र सिरियलबाट सहायक निर्देशकको रुपमा पर्दापछिल्तिरको काममा उनी ब्यस्त भए । ०५८ देखि ०६२ सम्ममा उनले तीन दर्जन भन्दा धेरै नाटकमा अभिनय गर्नुका साथै दर्जन बढी नाटकको लेखक र निर्देशन समेत गरे ।

जीवन चक्रपछि नेपाल टेलिभिजनबाटै प्रशारण भएका सिन्दुर, करुणा, घर परिवार, नाता र नेपाल वान टेलिभिजनबाट प्रशारण भएको कसलाई आफ्नो भनुँ सिरियलमा पनि पोखरेलले सहायक र मुख्य सहायक निर्देशकको रुपमा काम गरे । चलचित्र ज्वालामुखीमार्फत ठुलो पर्दाको चलचित्रमा काम सुरु गरेका पोखरेलले दुई दर्जन भन्दा धेरै ठुलोपर्दाका चलचित्रमा पनि सहायक र मुख्य सहायक निर्देशकको रुपमा काम गर्न भ्याए । लामो समयदेखि चलचित्र कर्ममा लागेका पोखरेलले चलचित्र पत्रकारिता पनि गरिरहेका छन् ।

करिव ३ वर्ष पहिले नेपाल टेलिभिजनबाट प्रशारण भएको र दर्शकले निकै रुचाएर टेलिसिरियल डियर जिन्दगीमार्फत उनी पर्दाअगाडि पनि आए । डियर जिन्दगीमा पोखरेलले लेखन, श्रृंखला-निर्देशनसँगै मुख्य भूमिकामा अभिनय पनि गरे । उक्त सिरियलमा उनले गरेको खलपात्रको अभिनय दर्शकले निकै रुचाएका थिए । उनले भर्खरै मात्र दशैँ शीर्षकमा लघु चलचित्र निर्माण गरेर युट्युबमार्फत रिलिज पनि गरेका छन् ।

यसरी निरन्तर चलचित्रकर्ममा लागेका पोखरेल राजनीतिमा निकै चासो दिने चलचित्रकर्मीहरू मध्ये पर्दछन् । नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न राज्य सधै उदासीन रहेको भन्दै पोखरेल आक्रोश पोख्दछन् । देशको राजनीति स्थिर भएमा मात्रै चलचित्र क्षेत्रसँगै अन्य क्षेत्रको पनि ब्यवसाय राम्रो हुने उनको बुझाइ रहेको छ । राज्यले आफ्नो भाषा जोगाउनको लागि पनि नेपाली चलचित्रप्रति स्पस्ट नीति बनाउनैपर्ने उनको भनाइ रहेको छ । देशको राजनीतिमा सुधार नल्याएसम्म कुनै पनि कुरा नसुध्रिने भन्दै आफू राजनीतिमा होमिएको पोखरेलले बताए । राजनीतिमा आउने आफ्नो रहर नभएर बाध्यता भएको उनको जिकिर छ । आजसम्म साशन सत्तामा रहेकाहरूले राम्रोसँग देश चलाएको भए आफूलाई राजनीतिमा आउनुपर्ने थिएन भन्ने तर्क दिँदै वसन्त पोखरेलले आफू ‘हामी आफै बनाउछौँ हाम्रो देश’ भन्ने नारा अघि सारेर निर्वाचनको मैदानमा उत्रिएको ‘एकीकृत शक्ति नेपाल’ पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको जानकारी दिए । प्रादेशिक संरचना खारेजी जस्ता महत्वपूर्ण मुद्दाका साथ चुनावमा होमिएको सो पार्टीको चुनाव चिन्ह त्रिशुल रहेको छ ।