दलहरू सहमतिबाट अघि बढ्लान् ?

दलहरू सहमतिबाट अघि बढ्लान् ?


ध सुजन गुरुङ
नेपालका राजनीतिक दलहरूले अब धेरै पाठ सिकिसके होलान् भन्ने मलाई लाग्छ । एक-अर्काबीच पानी बाराबार गर्ने दलहरू आज परिस्थितिबस सँगै हिँड्न बाध्य बनेका छन् । सहमति र सहकार्य भनेको के हो भन्ने समयले नै उनीहरूलाई सिकाइरहेको छ । राजनीतिक रूपमा देश अत्यन्त नाजुक र सङ्क्रमणबाट गुज्रिरहेको परिस्थिति भएको हुनाले पनि राजनीतिक दलहरू सहमति र सहकार्यका निम्ति तयार हुनुपर्ने अवस्था निम्तिएको हो । आपसी टकराव र अनावश्यक ढिपीले कसैको हित नहुने हुनाले दलहरू मिल्नैपर्छ, मिलेर अघि बढेर मात्र राजनीतिक स्थायित्वमा पुग्न सकिन्छ । म त सकारात्मक सोच राख्ने व्यक्ति परेँ, अब सहमतिबाटै दलहरू अघि बढ्लान् भन्ने ठान्दछु ।

ध सपना थपलिया
यो देशका राजनीतिक दलहरूको व्यवहार देखेर म त दिक्क भइसकेँ । झन् ठूला भनिएका तीन दलहरूको ढङ्ग हर्ेदा यिनीहरू आफू पनि बन्दैनन् र देश पनि बनाउँदैनन् भन्ने लाग्छ । यिनीहरूको आ-आफ्नै हठ र अनेक सर्तहरू देख्दा या सुन्दा लाग्छ- दलहरू स-साना केटाकेटी हुन् र के ठीक के बेठीक भन्ने नबुझी एकोहोरो आफ्नो जिद्दी दर्शाइरहन्छन् । संविधानसभा चिप्लिन लागिसक्दा पनि दलहरूले आ-आफ्ना ढिपी वा सर्त नछोडेका र अन्तिम समय गुज्रनै लाग्दा बैठक बसेर जसोतसो सहमतिमा पुगेको घटना नै अत्यन्त लज्जास्पद छ । जिम्मेवार दलहरूको यस प्रवृत्तिले भविष्यमा पनि यिनीहरू मिलेर होइन आपसी हानथापबाटै अघि बढ्छन् भन्ने सङ्केत गर्छ । दलहरू सहमतिबाट अघि बढ्ने विश्वास मलाई छैन ।

ध विष्णु पन्त
भाँडभैलोको संस्कृति खोज्नु परे अब कतै जानुपर्दैन, नेपालमै खोज्दा हुन्छ । पटकपटक ठक्कर खाँदा पनि दलहरूमा चेत आएझैं लाग्दैन । झन् आफूलाई ठूला भन्ने राजनीतिक दलहरू त यतिसम्म गिरिसकेका छन् कि उनीहरू देशका लागि होइनन् बरु देशचाहिँ उनीहरूको निम्ति भइदिएको ठान्छन् । उनीहरूको घमण्ड थामिनसक्नु छ । देश र जनताको व्यथासँग उनीहरू बेखबर छन्, अर्थात् बुझे पनि यिनीहरूले बुझ पचाइरहेका छन् । मेलमिलाप भनेको कुन चराको नाम हो, यसो गर्दा मुलुकलाई कति लाभ हुन्छ भन्ने विषयमा यिनका घैंटामा घाम लागेकै छैन । यही कारणले बाहिरिया तत्त्वहरूले यिनीहरूलाई उकास्छन् र आफ्नो स्वार्थमा प्रयोग गर्छन् । जनताले भने यिनीहरूकै कारण सधैं दुःख मात्र पाइरहेका छन् । मै हुँ भन्ने नेपालका दलहरूप्रति विश्वास छैन मलाई त ।

ध अनील खरेल
नेपालमा दलीय राजनीति अभ्यासमा आएकै कति भएको छ र – वास्तवमा भन्ने हो भने लोकतान्त्रिक मूल्य, मान्यता र मर्म भनेको के हो- दलहरूले व्यावहारिक रूपमा त्यो राम्ररी बुझने अवसर पाएकै छैनन् । यसो हुनुमा राजनीतिक दलहरूको आफ्नै कमजोरी नभएका पनि होइनन् । तथापि हामी निराश भइहाल्नुपर्ने अवस्था छैन । विश्वमा कैयन यस्ता मुलुकहरू पनि छन् जो हामीभन्दा पनि गए गुज्रिएको अवस्थाबाट पार भएर उन्नति-प्रगति गरिहेका छन् । हाम्रा राजनीतिक दलहरू पनि सिक्दै छन्, बुझदै छन् । युवा वर्गमा नेतृत्व आउनुपर्छ भन्ने आवाज यहाँ बुलन्द हुँदै छ । यी सबै कारणले पनि भावी दिनहरू सहमतिबाटै अघि बढ्ने अपेक्षा गर्न सकिन्छ । थोरै समय त लाग्न सक्छ यसका लागि ।

ध सफल गुरागाईं
वर्तमान परिवेशका आधारमा भन्नुपर्दा हाम्रा राजनीतिक दलहरू सहमतिबाट अघि बढ्लान् भनी विश्वास गर्नु भनेको नदी उल्टो बग्छ भनी पत्याउनुसरह नै हो । सहमतिका लागि बैठक बस्नै गाह्रो, बल्लबल्ल बैठक बस्यो सहमतिमा पुग्न गाह्रो, जेनतेन सहमति भयो- फेरि त्यसलाई व्यवहारमा उतार्न मरेजत्तिकै गाह्रो † यो त हामीले केही वर्षयतादेखि भोगिआएकै कुरा हो । यहाँ भएका सहमतिहरू दलहरूले कति पालना गरेका छन् त – सहमति पालना भएको भए आज यस्तो अवस्थामा पुग्थ्यो र देश – रात बित्न नपाउँदै सहमति कसरी तोड्ने भन्ने तिगडम सुरु गरिन्छ यहाँ । यस्तो परिस्थितिमा राजनीतिक दलहरू सहमतिबाट अघि बढ्ने विश्वास हामीले कसरी गर्ने –

ध सुरज बिके
पुरातनवादी या संसद्वादी दलहरू मुलुकलाई ढुङ्गेयुगतिर फर्काउने कसरतमा जुटेका छन् । जुन शक्ति देशको भलो चिताएर जनता र देशलाई समयानुकूल परिवर्तन गराउने पक्षमा लागिपरिरहेको छ- उसलाई कर्नरमा पार्ने प्रयत्न आन्तरिक तथा बाह्य रूपमै पनि भइरहेको छ । ती दलहरू आफ्नो होइन अर्काकै भाषा बोल्छन्, गोटी बनिरहेछन् ती । उनीहरूलाई जनता र देशको कुनै पर्वाह छैन, केवल आफ्नो दुनो सोझयाउन पाए पुग्छ । यस्ताहरू कहिल्यै सहमति रुचाउँदैनन्, मुखले चाहिँ सहमतिको नारा भट्याउन यिनीहरूलाई कसैले उछिन्न सक्दैन । जबसम्म यस्ता दलहरूलाई जनताले किनारा लगाउँदैनन् तबसम्म सहमतिको यात्रा सम्भवतः छैन यो देशमा ।