गाउँमा घाँस काटिरहेका लम्सालको हातमा कसरी पुग्यो काङ्ग्रेसको टिकट ?

गाउँमा घाँस काटिरहेका लम्सालको हातमा कसरी पुग्यो काङ्ग्रेसको टिकट ?


नेपाली काङ्ग्रेसको टिकट वितरण प्रणालीमा धेरै क्षेत्रमा धेरै खालका उतारचढाव आए । टिकट वितरणप्रति हरेक दलमा असन्तुष्टि बढेको पाइयो । यस्तो परिवेशमा गाउँमा घाँस काटेर बसिरहेका नेताको हातमा पनि काङ्ग्रेसजस्तो दलको टिकट पुग्ने अनुमान सजिलै गर्न सकिन्न । तर, यस्तै नसोचिएको या बिरलै प्रकारको घटना भयो धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ का उमेदवार गोविन्द लम्सालको हकमा !

आफूले टिकट पाउने कुरामा आशावादी नरहेकोले नेता लम्साल पार्टीबाट टिकटको निर्णय हुने बेलामा आफ्नै गाउँको पाल्पाभन्ज्याङमा घाँस काटिरहेका थिए । धादिङको टिकटमा संघमा रस्साकस्सी परिरहेको थियो । टिकट रामानाथ अधिकारीले पाउने कुरा निश्चितजस्तै थियो, तर शेखर कोइराला टिमबाट अधिकारीको निर्णय भए पनि यो निर्णय उल्ट्याउने र केन्द्रीय सदस्यसमेत रहेका दिलमान पाख्रिन तमाङलाई टिकट दिलाउने कार्यमा शेरबहादुर देउवा पक्षका जिल्लानेताहरू लागेका थिए । रामनाथ अधिकारीको टिकट दिलमानलाई दिनुपर्छ भनेर लडाइँ गर्ने नेतामा बागमती प्रदेशका प्रवक्ता तिलक रुवाली र निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गानाले अडान लिएका थिए । तर गोविन्द लंसाललाई टिकट दिलाउन भने कोही लागेका थिएनन् । उनको पक्षमा लविङ गरिदिने कोही थिएनन् ।

काङ्ग्रेसमा निष्ठाको राजनीति गर्ने नेताहरूलाई पनि स्थान दिनुपर्छ र निष्ठावान नेताहरूको पनि पार्टीले मुल्याङ्कन गर्छ भन्ने जनमानसमा सन्देश प्रवाहित हुनुपर्छ भन्नेमा एक जना मात्र देखिए- काङ्ग्रेसका केन्द्रिय प्रवक्ता डा. प्रकाशशरण महत । उनको ध्यान गाउँमा घाँस काटिरहेका गोबिन्द लम्सालतर्फ खिचियो । गुटका हिसाबले सङ्घीय टिकट शेखर टिमले लिएपछि प्रदेश टिकट शेरबहादुर पक्षलाई दिने र शेरबहादुर पक्षका नेतामा निष्ठावान छाप बनाएका नेता गोविन्द लम्साललाई टिकट दिने काम डा. महतले गरे । त्यति मात्र नगरी नुवाकोटसँग सीमा जोडिएको धादिङमा प्रदेश समानुपातिकमा पनि सबै देउवापक्षीय नेताहरू पार्न उनी सफल भए ।

यस्तै, काङ्ग्रेसको पुराना संगठकको परिचयका साथै धादिङमा शेरबहादुर टिमको संस्थापकको पगरी गुथेका र देउवा टिममा लागेका कारण जिल्लामा स्थापित हुन कठिन अवस्थामा रहेका शिवराज अधिकारीलाई समेत समानुपातिकको खसआर्यतर्फ १ नम्बरमा राख्ने काम डा. महतले गरे । यसबाट देशभरमा नै डा. प्रकाशशरण महतको कारण धादिङमा उचित स्थान पाउनुपर्ने पुराना र निष्ठावान कांग्रेस नेताहरूलाई देउवा टिमले समेत स्थान दिएको चर्चा चलिरहेको छ ।

को हुन् गोविन्द लम्साल ?

२०३७ सालमा नेविसंघ धादिङको जिल्ला अध्यक्ष रहेका लम्साल २०४२ सालको सत्याग्रह आन्दोलनमा जेल परेका थिए । नेपाल दरुण दलको पुनःस्थापनापछि धादिङको पहिलो अध्यक्ष रहेका उनी पटक-पटक महाधिवेशन प्रतिनिधि र महासमति सदस्य रहेका छन् ।

२०४९ सालमा धादिङ जिल्ला विकाश समितिको सदस्य रहेका गोविन्द लम्सालले २०५४ सालमा तत्कालिन मुरलीभञ्ज्याङ गाविसका उपाध्यक्षको जिम्मेवारी निभाएका थिए । धादिङ काङ्ग्रेसका जिल्लासचिव रहेका उनमाथि विशेष दृष्टि दिएर प्रवक्ता महतले स्थान दिएका हुन् ।

डा. महत धादिङमा समानुपातिकतर्फ दलित नेता गोपाल विश्वकर्मा र प्रत्यक्षतर्फ मधुकुमार श्रेष्ठ क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा र समानुपातिकमा शान्ता तमाङसमेतको नाम चढाउन सफल हुँदा कोइराला पक्षका रामनाथ अधिकारीले संघीय सांसदको उम्मेदवार मात्र हात पारे ।

यस्तै, २०७० सालमा पनि उम्मेदवार रहेका धादिङका अर्का नेता तिलक रुवाली यसपटक पनि आफू टिकटको दाबेदार रहे पनि सम्भावना कम भएपछि दिलमान पाख्रिनको लागि लबिङ गर्न उद्धत् थिए । तर, टिकट पाउन नसकेपछि उनी रामनाथ अधिकारीको प्रस्तावक बनेर उच्च राजनीतिक संस्कार देखाउँदै धादिङमा देउवा टिमको नेतृत्व गर्ने अग्रपात्र बनेको चर्चा छ ।