‘तिहारमा फूलको प्रयोग र महत्व’

‘तिहारमा फूलको प्रयोग र महत्व’


फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास, दुर्गन्ध हटाइ वातावरण सुगन्धित तुल्याउँदछ । जसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मनमा प्रशन्नता र शान्ति प्रदान गर्दछ, साथै नकारात्मक उर्जालाई नष्ट गर्दछ ।
  • लामिछाने मातृका

विजयादशमीपछिको दोश्रो ठूलो चाड तिहार हामी नेपालीको घरआँगनीमा आइसकेको छ । हरेक वर्षको कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्लपक्षको द्वित्तियासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चक पनि भन्दछन् । दीप बालेर मनाइने पर्वलाई नेपालमा दीपावली र भारतमा दिवाली समेत भन्ने गरिन्छ ।

हिन्दु धर्मावलम्बीहरूले तिहारलाई मुख्य चाडको रूपमा मनाउने प्रचलनबारे विभिन्न जनश्रुतिहरू विद्यमान छन् । त्रेता युगमा दशरथपुत्र श्रीरामले हरणमा परेकी आफ्नी पत्नी सीतालाई फर्काउने क्रममा भएको संघर्षमा लंकाधिपति रावणलाई बध गरि स-पत्नी स्वदेश फर्कंदा अयोध्यावासीले भब्य रूपमा दीपावली गरि स्वागत गरेकोले सत्यको जीतको रूपमा हालसम्म पनि यो चाड मनाइँदै आएको हो भन्ने कथन छ । अर्को किंवदन्तीअनुसार भगवान् विष्णुले बामन अवतार धारण गरि बलिद्वारा बन्दी बनाइएकी लक्ष्मीलाई यसै दिन मुक्त गरेकोले पनि खुसीयालीस्वरुप यो चाड मनाइँदै आएको हो भनिन्छ ।

धार्मिक र पौराणिक मान्यताअनुसार मृत्युदेव यमराजले वर्षौंसम्म भेट हुन नपाएकी बहिनी यमुनाकहाँ जाँदा बहिनीले पाँच दिनसम्म आफ्ना दाज्यूका दूत, खबारी, रक्षक आदिका रूपमा काग, कुकुर गाई, गोरुलगायत दाज्यूको पूजन गरि सप्तरंगी टीका, रंगीविरंगी फूलहरूको माला, मिष्ठान्न परिकारहरूको भोजन गराइ पठाएकी र यमराजले यसैगरी हरेक वर्ष कात्र्तिक शुक्ल द्वित्तियाका दिनमा बहिनीसँग भेट गर्न आउने वाचा गरेको र, सोही प्रचलन आजपर्यन्त चाडको रूपमा हिन्दुमात्रमा महान् पर्वको रूपमा प्रचलित छ ।

प्रसङ्ग तिहारको भन्दा पनि तिहारमा प्रयोग गरिने फूल र यसको महत्वसँग सम्बन्धित छ । औषधीय गुण भएको ‘फूल’ शब्द स्वयंमा पनि एउटा सौन्दर्य, शान्ति, प्रेम, सुगन्ध, सद्भाव, सम्मान र शालिनता बोध गराउने किसिमको छ । पुष्प पल्लवी, पुष्पलतिका, पुष्पपुञ्ज आदि भनिने फुलहरूको प्रयोग ब्यापक छ । तिहारमा मात्र नभएर हाम्रा दैनिक धर्मकर्ममा र कार्य प्रकृतिअनुसार फुलको प्रयोग गरिन्छ । शुभप्रभात सँगै पुजापाठ, आराधना, भजनकीर्तनमा, मठ-मन्दिरमा देविदेवताका निम्ति, पाठशालामा, विवाह, ब्रतबन्धमा, देवकार्य, पितृकार्य सवैमा फूलको आवश्यकता पर्दछ । धर्म अनुष्ठान, शुभकार्य आदि फूल नभए शुभ र सान्दर्भिक ठानिदैन ।

धर्मग्रन्थ अनुसार विभिन्न भगवानहरूलाई फरक-फरक रंगका फूलहरू चढाइन्छ । देवालय या मन्दिरहरूमा भगवानहरूले मनपराउने पुष्प अर्पण गर्दा प्रशन्न हुने र भक्तजनहरूको मनोकाङ्क्षा पूरा हुने, ब्रत, जप-तप, आरती, उपवास आदि पूर्ण हुने विश्वास छ । फल, प्रसाद, रत्न, सुवर्ण, द्रब्य आदि चढाउनु भन्दा पुष्प अर्पण गर्दा मात्र पनि भगवान प्रशन्न हुन्छन् । फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास, दुर्गन्ध हटाइ वातावरण सुगन्धित तुल्याउँदछ । जसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मनमा प्रशन्नता र शान्ति प्रदान गर्दछ, साथै नकारात्मक उर्जालाई नष्ट गर्दछ ।

फूलहरू ठाउँ, समय र मौसमअनुसार विभिन्न जाति र प्रजातिका हुन्छन् । ब्रह्मकमल, घण्टीफूल, सुनाखरी, पारीजात, नागकेशर, कुसुम, केतकी फूल, मौलसीरी, जुही, कदम्ब, चमेली, जाहीजुही, वसन्ती, चम्पा, मालती, बैजयन्ती, इन्द्रजौको, पलाँस, कुमुद, करबरी, चणक, वनमाला, कमल, चम्पा, गुलाव, लालुपाते, गोदाबरी, गुराँस, सुनगाभा, मखमली, लाहुरी, सयपत्री आदि हामीकहाँ प्रयोग हुने मुख्य फूलहरू हुन् ।

सभा-समारोह, विजयोत्सव, स्वागत र विदाई, रंगशालादेखि स्मसानघाट, दा्बाटो चौबाटोमा शालिक र मुर्ति, प्रतिमाहरूमा, मञ्चमा नेता, अतिथि र विजयीहरूमा घर-आँगनमा कोठाचोटा सजाउनमा समेतको प्रयोगले फूलको महत्व र आवश्यकता स्पष्टै दर्शाउँछ ।

अझ तिहारको चाड नै फूल र दीपको चाड मानिन्छ । सबैका घरआँगनीमा ढकमक्क फुलेका सुगन्धित फूलहरूको बास्नामा रमाउन धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीसमेत सबैका घरमा बास गर्न आउनेछिन् भन्ने जनविश्वास छ । ललाटमा सप्तरङ्गी टीका, गलाभर रंगीबिरंगी फूलको माला, विभिन्न पकवान, मिष्ठान्न परिकारहरू खाने, दीप फूल, महालक्ष्मी भगवतीको प्रर्थना र महिमागारत गाउँदै देउसी-भैलो खेली मनाइने चाड तिहार साँच्चिकै सद्भाव, भाइचारा र प्रेम र सम्मानको द्योतक मानिन्छ ।

धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पौराणिक गाथासँग जोडिएर आउने फूल एउटा पथप्रदर्शक पनि हो । पौराणिक कालमा रावणले आफ्ना सौतेला भाई कुवेरको पुष्पक विमान युद्ध जित्ने कार्यका लागि प्रयोग गर्ने गरेको किंवदन्ती आजकालका हवाइयान र विमान बनाउने सोचका लागि उत्तिकै सहायकसिद्ध पथप्रदर्शक भएको मान्न सकिन्छ ।

माया प्रेम र भेटघाटको सौगातस्वरुप उपहार दिने अनि सम्बन्धलाई अझ निकट, सौन्दर्यपूर्ण र प्रगाढ तुल्याउन फुलको माला भाइटीकामा अनिवार्य मानिन्छ । जसै मंगलसुत्र विनाविवाहको कल्पना गरिँदैन, त्यसैगरि मालाबिनाको भाइटीका अधुरो हुने गर्दछ । मखमलीको माला दाजुभाइको दीर्घायुको रूपमा, सयपत्री र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाहिजुही र चमेली मनोकाङ्क्षा पूरा होस्, सफलता प्राप्त होस् भनी दिदी-बहिनी, दाजुभाइ र चेली माइतीबीचमा एकअर्कालाई पहिऱ्याइदिने प्रचलन छ ।

त्यसर्थ, तिहारमा हामी सबैलाई फूलको मालाले शान्ति, सद्भाव, भाइचारा, उन्नति र दीर्घायु एवम् प्रगतिपथमा लम्किरहने शक्ति र प्रेरणा मिलोस्, शुभकामना ।