चितवनमा दिनेशको विद्रोह र त्यसको राजनैतिक अर्थ

चितवनमा दिनेशको विद्रोह र त्यसको राजनैतिक अर्थ


‘प्रचण्डबाट काङ्ग्रेसलाई जोगाउनका लागि पनि आवश्यक थियो विद्रोह’

  • रमेश बस्ताकोटी

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशको राजनीतिक माहोल तातिरहेको बेला उम्मेदवारहरू बारे पनि चर्चा हुन थालेको छ । तीमध्ये चितवन क्षेत्र नं. ३ बाट माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङ्ग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइरालाको चर्चा पनि देशव्यापी नै छ ।

दिनेश कोइरालाले जित्लान् या हार्लान् त्यो समयले भन्ने नै छ, तर दिनेशको चर्चा हुनुको पछाडी खासगरि तीनवटा कुरा महत्व छन् भन्ने म ठान्दछु । एक त दिनेशले आफ्नो हुँदाखादाको केन्द्रीय सदस्य पद जुन उनले निकै कडा संघर्ष र मेहनतपछि प्राप्त गरेका थिए र, बाँकी राजनीतिक भविष्यलाई समेत जोखिममा राखेर आफ्नै पार्टीसँग विद्रोह गरेका छन् । अर्को- उनलाई नेकपा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाएर समर्थन गरेको छ । तेस्रो- २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनलाई भरतपुर महानगरको टिकट दिएर पनि खोसिएको थियो ।

दिनेश देशव्यापी रुपमा नेटवर्क भएका युवा नेता हुन् । जे होस्, दिनेशले योपटक विद्रोह गरेका छन् । दिनेशको विद्रोहका पछाडि धेरै कारण छन् । पार्टी संगठनमा पार्टीको निर्देशन नमान्नेलाई कारवाही गरेर संगठनबाट नै निकालिन्छ, सोहीअनुरुप दिनेश पनि कारवाहीमा परेका छन् । उनको केन्द्रिय सदस्य पद पनि खोसिएको छ । यस्ता जोखिम मोलेर दिनेशले किन विद्रोहको बाटो रोजे होलान् त ? यसबारेमा केही चर्चा गर्ने प्रयास गरेको छु ।

काङ्ग्रेसजनमा देखिएको वितृष्णा

दिनेश कोइरालाले विद्रोह गर्नुको पछाडि चितवनमा काङ्ग्रेसीहरूमा देखिएको वितृष्णा प्रमुख कारण हुन सक्छ । ७० सालपछि काङ्ग्रेसीहरूले कुनैपनि चुनावमा आफ्नो निर्वाचनमा भोट हाल्ने वातावरण बनेन । तालमेल र गठबन्धनको नाममा कहिले माओवादीको हँसियाहथौडा त कहिले राप्रपाको हलोमा भोट हाल्नुपर्ने बाध्यात्मक परिवेश बन्यो । चितवन नेपाली काङ्ग्रेसका लागि निकै उर्वर भूमि हो । यहाँ नेपाली काङ्ग्रेसको स्थापनाकालदेखि काङ्ग्रेसमा लागेर निकै संघर्ष गरेका नेता र तिनका परिवार छन् । काङ्ग्रेसका नाममा कयौँ शहीद पनि भएका छन् । तर आफ्नो निर्वाचनचिन्हमा भोट हाल्न नपाउने र सधैं अर्को पार्टीको उम्मेदवार बोकेर हिँड्नुपर्ने परिवेश बनेपछि यहाँका काङ्ग्रेसीहरूमा एक प्रकारको वितृष्णा पैदा भएको कुरालाई लुकाएर लुक्ने विषय हैन । सायद दिनेशले यिनै कुरालाई निकै नजिकबाट बुझे र केही ‘ठेकेदार काङ्ग्रेसी नेता’हरू बाहेक आमकाङ्ग्रेसीका भावनाको कदर गर्न पनि विद्रोहको बाटो रोजेका हुन् ।

दिनेश भन्छन्, ‘काङ्ग्रेसको संगठन भजाएर खान पल्केका केही धुर्त काङ्ग्रेसीहरू बाहेक इमान्दार काङ्ग्रेसीहरूको भावनाअनुसार उम्मेदवार बनेको हुँ । उनीहरूको पार्टी संगठनप्रतिको मायालाई मैले बुझेको छु । उनीहरूको सल्लाहबमोजिम नै उम्मेदवार बनेको हुँ ।’

सत्तासँग सङ्गठनको सौदा

पार्टीको केन्द्रीय नेतृत्वले जहिले पनि चितवनमा सत्तासँग संगठनको सौदा गरिरह्यो । काङ्ग्रेसको १३औं महाधिवेशनपछि सभापति निर्वाचित भएर शक्तिमा शेरबहादुर देउवा आएपछि भएको २०७४ को स्थानीय चुनावमा दिनेशलाई भरतपुर महानगरको टिकट दिइयो, तर पछि सत्ता-लोभका कारण उनले मनोनयन गरिसकेपछि पनि उम्मेदवारी फिर्ता गर्न भनियो । तर दिनेशले मानेनन् र, उनको टिकट सभापति देउवाले काठमाडौं बसेरै खोसिदिए ।

आमनिर्वाचनको सम्मुखसम्म आइपुग्दा त काङ्ग्रेसका उम्मेदवारसमेत को बन्ने नबन्ने कुुराको टुङ्गो खुमलटारबाट लाग्ने परिवेश बन्यो । शेरबहादुरकहाँ भन्दा प्रचण्डकहाँ पुगियो भने आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने हुन थाल्यो । सधैं माओवादीलाई नै भोट हाल्नुपर्ने भएपछि काङ्ग्रेस भएर किन बस्ने ? बरु माओवादीमा नै प्रवेश गरेर भविष्य खोज्नुपर्छ भन्ने नेता–कार्यकर्ताको मनोविज्ञान हुन थाल्यो ।

सत्तासँग संगठनको सौदा गर्न खप्पिस देउवाको यो कदमको सर्वत्र आलोचना भयो, तर पनि सत्ता र शक्तिको अनुभवी खेलाडी शेरबहादुरको शक्तिको उन्मादका अगाडि कसैको केही लागेन । उनले कहिले रेणु दाहाल, कहिले पुष्पकमल दाहाल र कहिले राप्रापाका विक्रम पाण्डेलाई भोट हाल्न उर्दी गरिरहे । सत्तासँग संगठनको सौदा गर्ने यही कुराको अन्त्यका लागि दिनेशले विद्रोह गरेका हुन् । दिनेशको विद्रोह चितवनका लागि मात्र नभइ देशभर जहाँ सत्ता र शक्तिसँग संगठनको सौदा गरिएको त्यो ठाउँको लागि पनि हो । उनले एक भेटका क्रममा यस पङ्क्तिकारसँग भनेका थिए, ‘सत्ता टिकाउनका लागि काङ्ग्रेसलाई माओवादीको भातृसंस्था बनाउने प्रयास भयो, जिल्लाका निकै पुराना नेताहरूलाई कारवाही गरेर उनीहरूको बली चढाउने काम गरियो, एउटा इमान्दार काङ्ग्रेसले यी सबै कुरा टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारण पनि मैले विद्रोह गर्न आवश्यक थियो । विद्रोहको सुरुवात मैले गरेको छु, अब निर्वाचनबाट यसको परिणम दिने बेला आएको छ ।’

चितवन काङ्ग्रेसको अँध्यारो भविष्य

दिनेश कोइरालाले विद्रोह गर्नुको पछाडि चितवन काङ्ग्रेसको अनिश्चित र अँध्यारो भविष्य पनि एक हो । चितवनमा निरन्तर काङ्ग्रेसमाथि माओवादी हावी हुँदै जाने स्थिति बन्यो । यो आमनिर्वाचनको सम्मुखसम्म आइपुग्दा त काङ्ग्रेसका उम्मेदवारसमेत को बन्ने नबन्ने कुुराको टुङ्गो खुमलटारबाट लाग्ने परिवेश बन्यो । शेरबहादुरकहाँ भन्दा प्रचण्डकहाँ पुगियो भने आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने हुन थाल्यो । सधैं माओवादीलाई नै भोट हाल्नुपर्ने भएपछि काङ्ग्रेस भएर किन बस्ने ? बरु माओवादीमा नै प्रवेश गरेर भविष्य खोज्नुपर्छ भन्ने नेता–कार्यकर्ताको मनोविज्ञान हुन थाल्यो । यसले गर्दा चितवनमा काङ्ग्रेसको भविष्य निकै अँध्यारो देखिन थालेपछि केही काङ्ग्रेसीलाई यसले चिन्तित बनाउन थाल्यो । कोइराला तिनैमध्येका एक हुन्, जो विद्रोको बाटो रोजेर भएपनि चितवनमा काङ्ग्रेस जोगाउनुपर्छ भन्नेमा लागे । उनले अहिले गरेको विद्रोहले काङ्ग्रेसका अरु कार्यकर्ताहरूमा पनि बेग्लै उत्साह छाएको पाइन्छ । दिनेशले भनेका छन्–‘लोकतन्त्र दाहाल र देउवा परिवारका लागि मात्र होइन, अंशवाद, बंशवाद र धनवादको राजनीतिलाई चिर्न जरुरी छ । यसका लागि हामीले क्रान्ति गर्नैपर्छ, चितवनमा काङ्ग्रेस जोगाउने हो भने अब अरु विकल्प छैन, नेतृत्वको खराव निर्णयका विरुद्ध लड्नैपर्छ ।’

प्रचण्डले छाडेपछि स्वभाविक काङ्ग्रेस

दिनेशले आफैलाई टिकट मागेका थिएनन् । उनले प्रचण्डले छाडेपछि चितवन ३ मा काङ्ग्रेसको उम्मेदवार हुनुपर्छ भन्ने माग गरेका थिए । तर प्रचण्ड र देउवाले त्यसो गर्न चाहेनन्, माओवादीलाई सो स्थानमा टिकट दिने निर्णय गरे । यसले गर्दा दिनेश कोइरालामा विद्रोह गर्ने आँट अझै बढेर आयो । उनले पार्टीका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटालगायतका नेताहरूको कारवाही फुकुवा, समानुपातिकमा पश्चिम चितवनबाट एकजना शहीद परिवारलाई राख्नुपर्ने लगायतको माग गरेका थिए । तर बालुवाटारले त्यो कुरो सुन्नै चाहेन, लोकतान्त्रिक पार्टीको नेतृत्वले कार्यकर्ताको कुरो सुन्नै नचाहने, त्यसमा छलफल गर्न पनि तयार नभएपछि दिनेशहरू विद्रोहको बाटोमा लागेका हुन् । ‘पैसावालहरूलाई टिकट बाँड्ने, चुनाव आएपछि आयआर्जनमा लाग्ने, आफ्नो गुटकालाई भन्दा अरुmलाई देख्नै नसक्ने भएपछि कसरी इमान्दार मान्छेले राजनीति गर्ने ?’ दिनेशले पंक्तिकारसँग आक्रोश पोखे ।

जोखिमको बाटो किन रोजे दिनेशले

‘मैले आफ्नो लागि मात्र हेरेको भए धेरै कुरा प्राप्त गर्न सक्थेँ, राम्रा अफर आएका थिए । तर मैले आफ्नो भविष्य भन्दा पनि देश र जनताको भविष्य हेर्ने हो । त्यसका लागि मेरो विद्रोह हो । त्यसकारण यो जोखिम उठाएको हुँ’, दिनेश भन्छन् । उनलाई काङ्ग्रेसले गठबन्धन गर्न हुँदैनथ्यो भन्ने लाग्छ, दिनेश गठबन्धन टुटाउनका लागि पनि ठाउँ-ठाउँमा इमान्दार काङ्ग्रेसहरूले विद्रोह गर्न आवश्यक परेको धारणा राख्छन् । उनले भने, ‘चितवनबाट बेथितिविरुद्ध क्रान्ति सुरुवात भएको छ, यो शान्तिपूर्ण हुन्छ, रक्तपातविहीन हुन्छ ।’ प्रचण्डबाट काङ्ग्रेसलाई जोगाउनका लागि पनि विद्रोह आवश्यक थियो । त्यसकारण जोखिम मोलेर भएपनि विद्रोह गरिएको हो ।’

दिनेशलाई नेकपा एमालले समर्थन गरेको छ । एमालले समर्थन गरेपछि धेरैले उनलाई एमाले प्रवेश गर्न लाग्यो भनेर हल्ला पनि पिटे । तर उनले आफू काङ्ग्रेसभित्र नै रहेर बेथितिविरुद्ध लड्ने र बोल्ने बताए । ‘एमाले र मेरो पोलिटिकल इन्ट्रेष्ट मिलेको छ, एमालेलाई पनि गठबन्धन हराउन परेको छ र मलाई पनि, त्यसकारण चितवनमा प्रचण्डको गृहनगरमा जसरी पनि गठबन्धन हराउनु दुवैको एजेण्डा भएका कारण एमालेले मलाई समर्थन गरेको हो ।’

राजनीतिमा निरन्तर सक्रिय दिनेश

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका दिनेशको पनि पार्टी संगठनमा लामो योगदान छ, उनि एकै पटक टुप्पोबाट पलाएका नेता होइनन् । काङ्ग्रेसको भातृसंस्था नेविसंघदेखि निरन्तर काम गर्दै यो उचाइमा पुगेका हुन् । २०५० सालमा नै दिनेश नेविसंघ बालकुमारी कलेजको अध्यक्ष बनेका थिए । पछि ०५३ सालमा उनी सोही कलेजको स्ववियु सभापति बने भने २०५६ देखि २०५८ सम्म नेविसंघको केन्द्रिय सदस्य रहे । पार्टीको नवौँ महाधिवेशनपछि उनी तीन पटक काङ्ग्रेसको महासमिति सदस्य निर्वाचित भएका छन् । दिनेश पटक-पटक जिल्ला समिति र क्षेत्रिय समितिमा रहेर काम गरेका नेता हुन् । देशव्यापी नेटवर्क भएको नेपाल जेसीजको सन् २००८ मा राष्ट्रिय अध्यक्ष भएर दिनेशले अब्बल नेतृत्व क्षमता प्रस्तुत गरिसकेका छन् ।