युक्रेनी हमलामा २३ रुसी सेनाको मृत्यु र दर्जनौँ घाइते भएको खुलासा

युक्रेनी हमलामा २३ रुसी सेनाको मृत्यु र दर्जनौँ घाइते भएको खुलासा


यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले खुलासा गरेका छन् ।

कादिरोभको टिप्पणी असामान्य यसकारण छ कि युद्ध सुरु भएदेखि नै मस्कोसमर्थक सेनाहरूले युद्धभूमिमा आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन् । तर बिहीबार टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेरसन क्षेत्रमा भएको जनाएका छन् ।

“स्थलमा सबै उद्धार कार्यहरू पूरा भइसकेका छन् र मृतक र घाइतेहरूको अन्तिम सूची छ, २३ सैनिकहरू मारिएका छन् र ५८ घाइते छन्“, उनको भनाइ छ ।

रुसको दक्षिणी मुस्लिम बाहुल्य क्षेत्र चेचन्याको नेतृत्व गर्ने कादिरोभले आफूलाई पुटिनको सिपाहीको रूपमा वर्णन गर्दै युद्धमा लड्न हजारौँ मानिसहरू पठाएको बताए ।