दक्षिण कोरियामा भागदौडका कारण १ सय ५१ जनाको मृत्यु, विश्वका नेताहरुद्वारा शोक व्यक्त

दक्षिण कोरियामा भागदौडका कारण १ सय ५१ जनाको मृत्यु, विश्वका नेताहरुद्वारा शोक व्यक्त


दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् । कैयन विदेशी पर्यटकसमेतको मृत्यु भएको उक्त घटनाप्रति विश्वका नेताहरूले शोक प्रकट गरेका छन् ।

राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौँको सहभागिता रहेको र तीमध्ये अधिकांश युवा र विद्यार्थी भएका समाचारमा जनाइएको छ । सयौँ पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको बताइएको छ ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जय शंकरले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै शोकमा परेको दक्षिण कोरियासँग भारतको ऐक्यबद्धता रहेको बताएका छन् ।