गुजरातमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु

गुजरातमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु


भारतको गुजरातस्थित मोरबीमा रहेको एउटा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु भएको छ । मृतक संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ भने १७७ जनाको उद्दार भएको छ ।

आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला मच्छु खोलामाथिको पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको हो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।

पुल भत्किएपछि मच्छु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको झोलुङ्गे पुल सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।