नक्कली करारनामा बनाइ नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१७ घर भइ सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अुसार नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा कीर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरेका थिए ।
नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गरेर उनले उक्त होटलमा लगानी गर्नको लागि भन्दै पटकपटक रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई वीरगन्ज महानगरपालिका८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
यसैक्रममा काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत वित्तिय कारोवार ‘हुण्डी गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया