बहस कार्यक्रमबीच विवाद हुँदा प्रचार्य घाइते, ओठमा सत्र टाँका

बहस कार्यक्रमबीच विवाद हुँदा प्रचार्य घाइते, ओठमा सत्र टाँका


  • मोहम्मद हबिब, भैरहवा

रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको निर्वाचनसम्बन्धी बहस कार्यक्रममा राजनीतिक कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पर्धीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो ।

सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए । घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ । उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए ।

बहस कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए । एक चरणमा सबै उम्मेदवारले भनाइ राखेपछि दोस्रो चरणमा भनाइ राख्ने क्रममा कार्यकर्ताबीच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवादित हुन पुगेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेको सम्बन्धमा राति ८ बजेसम्म केही रिपोर्ट नआएको बताए ।